तथ्यांक भन्छ : पराजुली अघि-अघि, न्याैपाने र श्रेष्ठ पछि-पछि

मकवानपुर । आसन्न निर्वाचनका लागि मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त रहेका बेला उम्मेदवारहरुको पक्षमा अडकलवाजी र अंकगणितकाे जाेड घटाउ सुरु भएकाे छ । पार्टीका नेता कार्यकर्ता तथा स्थानीय समेत वैशाखमा भएकाे स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई जोड घटाउ गरेर हार जितको वकालत समेत गर्न थालेका छन् ।
मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट आनन्दराम पराजुली, एमालेबाट जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ र राप्रपाका गुञ्जबहादुर न्यौपाने चुनावी मैदानमा छन् भने साना दल र स्वतन्त्र उम्मेदवाहरु पनि चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि विगतको निर्वाचन र स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस चुनावी क्षेत्रमा कांग्रेस, एमाले र राप्रपाबीच त्रिपक्षीय भिडन्त हुने पक्का छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको चर्चा चल्ने गरेकाे छ ।
यस निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ गरी १२ वटा वडा पर्दछन् । स्थानीय तह निर्वाचन–२०७९ मा ४२ हजार मत खसेको यस क्षेत्रको वडामा यस पटक ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) बिच समीकरण भएर सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा वडा अध्यक्षमा कांग्रेस, १ वटा वडा नेकपा (एस ) र १ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । यस्तै वडा नम्बर ४, ५, १०, १३, १४ र १५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । ६ वटा वडा कांग्रेससहित गठबन्धन र ६ वटा वडा एमाले एक्लैले जितेको छ तर गठबन्धनको मतान्तर बढी रहेको र राप्रपा पनि एकल चुनावी मैदानमा रहेकोले उसलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडाको नगर प्रमुखमा पराजुली झिनो मतान्तरले पराजित बनेका थिए । एमालेका मेयरका उम्मेदवार हरि बहादुर महतले तेइस हजार एकसय २४ मत प्राप्त गर्दा पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए । अहिलेका उम्मेदवारहरुमध्ये पराजुली विशेष चर्चामा छन् । उनी विगतको स्थानीय तह निर्वाचनमा हेटौंडाको प्रमुखमा झिनो मतान्तरले पराजित भएकाले उनीप्रति धेरैको सहानुभूति देखिन्छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १२ वटा वडा मध्य ४ वटा नेपाली कांग्रेसले १/१ वडामा नेकपा (एस) र माओवादी केन्द्रले जित हात पारेको थियो भने वडा नम्बर १२ मा कांग्रेस एकल चुनाव लडेको थियो जसमा माओवादी केन्द्रका उम्मेदवारभन्दा ३९ मतले कांग्रेसका उम्मेदवार पराजित भएका थिए । यता हेटौंडाको मेयर र उपमेयर पनि गठबन्धन दलकै नेकपा(एस) र कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । मेयरमा नेकपा (एस)की मिना कुमारी लामाले २३ हजार ७५ मत र उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यता स्थानीय तहको निर्वाचन–२०७९ मा यस क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत गठबन्धन दल नै अगाडि देखिन्छ भने एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहेको छ । दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा रहेको मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ र क्षेत्र नम्बर २ मा एक लाख ५० हजार ५ सय ७७ मतदाता रहेका छन् । स्थानीय तह चुनावमा यस क्षेत्रमा पर्ने हेटौंडाका वडाहरुमा कांग्रेससहित नेकपा(एस) र माओवादी केन्द्रका वडाध्यक्षहरुले २० हजार ६ सय ३४, एमालेको वडाध्यक्षले १९ हजार २ सय ४६ र राप्रपाका उम्मेदवारले २ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए ।
यो तथ्यांक हेर्दा लोकतान्त्रिक बाम गठबन्धन १ हजार ३ सय ८८ मतले एमालेभन्दा अगाडि छ भने गठबन्धन १७ हजार ७ सय ८५ मतले राप्रपा भन्दा अगाडि रहेको देखिन्छ । स्थानीय तहको निर्वाचन पछि थपिएको मतदाताको मतले को विजयी हुन्छ भन्ने कुरा चाहि मंसिर ४ मा सम्पन्न निर्वाचनपछिको मतगणनालाई नै कुर्नुपर्नेछ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया