भिडियोमा ‘भट्भटे’ लिएर आयो नेपथ्य

काठमाडौं - संगीतले सबैखाले मनःस्थितीलाई सिर्जनाबाट अभिब्यक्त गरेको छ । उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन् । नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ –
‘भटटट भटटट भट्भटे आयो
बाटो छोड् छोड् छोड्’
धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ । अर्थात्, अब तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गर्दैछ ।
छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो । तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक गर्यो । दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो ।
छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ । यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ । अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहने छन् ।
अमृत कुनै समय स्वयं मोटरसाइकल हाँक्थे । त्यतिबेला उनलाई एकप्रकारको उन्मुक्तता महसुस हुन्थ्यो । खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीब्र गतिमा अघि बढ्नुले प्रदान गर्ने त्यो सन्तुष्टि थियो । यदाकदा त्यसले अराजकतातर्फ पनि लैजान्छ । मोटरसाइकल हाँक्दाको उन्मुक्तता चाहिँ यसै गीतमा प्रतिविम्बित हुनपुगेको उनी बताउँछन् । सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदिक्षा भने यी दुवै भद्रगोल नभई अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ ।
यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ ।
गीतसँगै शब्दहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लश्कर पनि उपस्थित हुन्छ । कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ । यो लश्कर गीतसँगै काठमाडौंका थुप्रै परिचित स्थलहरुबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ । गीतको भाव अनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ ।
सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् । क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन् । यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ । म्युजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।
यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया