जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटर थन्किए, ज्यान गुमाउँदै कोभिड-१९ संक्रमित

धनगढी : बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोभिड–१९ संक्रमित पुरुष बिहीबारसम्म जिल्ला अस्पतालमा उपचाररत थिए । भारतको तमिलनाडुबाट चैत २९ गते घर फर्किएका ती व्यक्तिको अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको थियो । तर स्वास्थ्यमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखियो ।
जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर पनि थियो । तर चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरियो । स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीका अनुसार ती पुरुषको कोहलपुर पुग्न नपाउँदै बाटोमै मृत्यु भएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर पठाएको थियो । तर चलाउने जनशक्ति नहुँदा ती दुवै भेन्टिलेटर थन्किएका छन् ।
जिल्ला अस्पतालमा रहेको पीसीआर पनि जनशक्ति नभएर थन्किएको छ । जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश ठकुल्लाले जडान गरिएका आइसियू र भेन्टिलेटर उपकरण प्रयोगमा आउन नसकेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा जनशक्ति मात्रै नभएर भौतिक संरचनाको समेत अभाव रहेको बताए । उपकरण थन्क्याउनु परेकाले गम्भीर अवस्थाका बिरामीलाई जिल्ला बाहिरका अस्तालमा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
भारतबाट स्वदेश फर्किनेको भीड सबैभन्दा बढि पश्चिमी नाकामा हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको दोस्रो लहर फैलिन थालेको छ । संक्रमण दर दैनिक रुपमा वृद्धि भइरहेको छ । पछिल्लो समय जटिल अवस्थाका संक्रमित बढेका छन् भने अहिलेको स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै आवश्यक उपकरण र जनशक्ति थप्नुपर्ने सुझाव चिकित्सकहरूको छ ।
तर सुदूरपश्चिमका अस्पतालहरूमा जडान गरिएका आइसियू र भेन्टिलेटर भने आवश्यक जनशक्तिको अभावमा थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १० वटा अस्पतालमा पाँच महिनाअघि दुई/दुई वटाका दरले २० वटा भेन्टिलेटर र २० वटा आइसियू जडान गरेको थियो ।
सेती प्रादेशिक अस्पताल, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा छन् भने बाँकी सात अस्पतालमा जडान गरिएका सबै उपकरण प्रयोगमा ल्याउन नसकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भेन्टिलेटर र आइसियू चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ ।
उक्त जनशक्ति सेती, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्र सरकारलाई प्राविधिक जनशक्ति पठाउन पटकपटक आग्रह गरे पनि वेवास्ता गरिएको बताए ।
‘भेन्टिलेटर र आइसियू सञ्चालनका लागि देशभरी नै जनशक्तिको अभाव रहेछ,’ उनले भने, ‘प्रदेशमै रहेका प्राविधिक जनशक्तिलाई तालिम दिएर उपकरण सञ्चालन गर्ने तयारीमा छौ । तर संक्रमणको अवस्था सामान्य नभएकाले स्वास्थ्य जनशक्तिलाई लामो अवधिको तालिममा पठाउन सकिएको छैन् ।’
गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्न थालेपछि यहाँका अस्पतालहरु भरिभराउ हुन थालेका छन् । प्रदेश स्वास्थ्य आपूर्ति यव्यवस्थापन केन्द्रले अहिले थप एक सय २५ वटा आइसीयू खरिद गरेर यी अस्पतालहरूमा जडान गरिरहेको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया