सात महिनापछि दीपावलीले बजारमा रौनकता

जनकपुरधाम : सात महिनापछि जनकपुरधाम बजारमा रौनकता देखिएको छ । कोभिड-१९ संक्रमण महामारीको कारण चैत ११ गतेदेखि लकडाउनले मन्द भएको जनकपुरधाम बजारमा दसैँमा समेत कुनै प्रभाव पार्न सकेन । तर दीपावलीको सुरुवाती दिनदेखि रौनकता छाउन थालेको छ ।
कोभिड संक्रमण रोकथाम एवं नियन्त्रणका लागि लकडाउन अवधिभर बजार नै बन्द रहयो । साउनयता बजार बिस्तारै खुल्दै गए पनि बन्दले पारेको असरमा सुधार आउन सकेको थिएन । दीपावलीको पूर्व सन्ध्यामा बिहीवार धनतेरशका दिन जनकपुरधाम बजारमा किनमेल गर्नेहरुको भीडले भरिभराउ रहे पनि व्यवसायीको अनुहारमा भने रौनकता देखिएन । सीमित वस्तुको मात्र बिक्री वितरण भएको व्यवसायीहरुले बताएका छन् । बिहानैदेखि लक्ष्मी गणेश भगवानको मूर्ति, किराना सामाग्री, भाडावर्तन, पूजा सामाग्री, फलफूल, विद्युतीय झिलिमिली बत्ती र प्रसाद सामाग्रीको बिक्री वितरण भएको छ ।
तर अन्य वर्षको तुलनामा निकै कम व्यापार भएको व्यवसायी उमेश साहले बताए । उनले भने, ‘बजारमा भीड त छ तर किन्ने ग्राहकभन्दा पनि घुम्ने र मोलमोलाई गर्ने व्यक्ति बढी छन् ।’दीपवालीको पूजापाठका लागि सामाग्री र धन आर्जन गर्ने विश्वासका साथ धनतेरशकै दिन पछिल्ला राम्रो व्यापार हुने गथ्र्यो तर यसवर्ष कोरोनाले पारेको प्रभावका कारण मान्छेसँग पैसा नै नभएको कारण कटौति गरेर सामाग्रीहरु किन्ने गरेको साहले बताए ।
एकतर्फ दिपावलीको सरसजावट तथा पूजापाठको सामाग्रीको पसलमा भीडभाड देखिएको छ भने अर्कोतर्फ कपडा, सुनचाँदी, रेडिमेड र कस्मेटिक सामाग्रीहरुको पसल सुनसान देखियो । ती पसलेहरुको अनुहारमा दिपावलीको खुशहालीको कुनै असर पार्न सकेको छैन ।
ईकागज सँग कुरा गर्दै कपडा व्यवसायी सुरज गुप्ताले भने, ‘पछिल्ला वर्षहरुमा दसैं, दीपावली र छठ पर्वमा फुर्सत हुदैन थियो । तर यसपटक मान्छेले पूजापाठ, भाडावर्तन र झिलीमिली बती लगायतका आवश्यक सामाग्री मात्र किनेका छन् ।’ ‘कोरोना संक्रमणले पारेको गत ७ महिनादेखि व्यवसायमा पारेको प्रभावमा विजयादशमी र दीपावली जस्ता पर्वमा सुधार आउन सकेको छैन,’ उनले भने, ‘मिथिलाञ्चलको लोकपर्व छठमा केही लत्ताकपडालगायतका सामाग्रीको केही विक्री वितरण हुन सक्ला ।’
त्यस्तै सुनचाँदी व्यवसायी मनिष साहले कोरोनाले गर्दा व्यवसायी त बरबाद नै भइसकेको बताए । ‘घरधनीले पसलको भाडा एक रुपैयाँ पनि छोडेको छैन, स्टाफ तलब र बैंक ऋण ब्याजले उतिकै सताएको छ,’ उनले भने ।लकडाउन खुले पनि व्यवसाय हुन सकेन । पर्वमा व्यवसायीहरुमा ७ महिनादेखि जर्जर अवस्थामा रहेको व्यापारमा सुधार आउने आश थियो । ‘अर्थतन्त्र नै धराशायी भएको कारण आमजनतासँग पैसे छैन भने कताबाट किनमेल गरुन्,’ उनले भने ।
बजारमा पूजापाठ तथा घरायसी सामाग्री किनमेल महिलाको अधिकांश भीड देखिए पनि तिनीहरुले हातमा बोकेको झोला र पोलिथिनमा सीमित मात्रामा सामान रहेको थियो । थोरै समान किन किनेको भन्ने जिज्ञासामा निजी विद्यालयकी एक शिक्षिका ममता साहले भनिन्, ‘के गर्ने ७ महिनादेखि विद्यालयबाट पूरा तलब पाइएको छैन । जेनतेन गरेर विद्यालय संचालक तलबको आधा जति रकम दियो त्यो घरभाडा र छाक टार्नमै सिध्यो ।’
पैसाको आभाव छ तर पनि दीपावली जस्तो पर्वमा घर सुनसान गर्नुभन्दा राम्रो बचाइएको केही रकमबाट आवश्यक सामाग्री मात्र किनमेल गरेकी हुँ । ममताको मात्रै होइन, यस्ता थुप्रै घर परिवार छन्, जसलाई कोरोना कहरले आर्थिक अवस्था जर्जर भएको छ । तर पनि महिनौपछि जनकपुरधाम बजार ग्राहकको भीडभाडले व्यवसायीलाई केही राहतको काम गरेको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया