शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

पराजितहरू राजीनामा देऊ

मुलुकमा पहिलोपटक संविधान सभाको निर्वाचन, २०६४ मा आफ्नो पार्टीले नराम्रो हार व्यहोर्दा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिए । २०६४ चैत २८ गते भएको संविधान सभाको नतिजा आएको लगत्तै उनले २०६५ वैशाख १ मा राजीनामा दिए ।

सोही प्रकरणमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पनि पदबाट राजीनमा दिए, भलै उनको राजीनामा स्वीकृत भएन । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी बनेका तत्कालीन रक्षामन्त्री मिनेन्द्र रिजालले पनि आफू पदाधिकारीको निर्वाचनमा पराजित हुने छनक पाएपछि रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरे ।

राजनीतिमा नैतिकताका यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । राजनीति र नैतिकता एक अर्काका परिपूरक हुन्, सिद्धान्तमा । तर व्यवहारमा नैतिकता एकातिर र चरित्र अर्कातिर छ । नैतिकताको खडेरी परिरहेका बेला एकाध नेताले आफ्नो चरित्र उजागर गर्ने गर्छन्, जुन समाजमा अस्वाभाविक लाग्छ र नै ती समाचारका विषय बन्छन् । संविधान जारी भइसकेपछि भएको दोस्रो आम निर्वाचनमा पार्टीको मूली र सरकारका केही सदस्यहरु पराजित भएको घोषणा भइसकेको छ भने कोही पराजयउन्मुख छन् । तर पराजयको चौतर्फी समाचार बनिरहेका पार्टी मूली र संघीय तथा प्रदेश सरकारका मन्त्रीहरुमा अझै पनि नैतिकताको खडेरी परेको देखिन्छन् । उनीहरु टसको मस नगरी अझै पदमा विराजमान छन्, मानौं उनीहरुले नै चुनाव जितेका छन् ।

२०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा व्यक्तिगत रुपमा एमालेका तत्कालीन महासचिव र कांग्रेसका कार्यवाहक सभापति कति जिम्मेवार थिए, त्यो अर्कै विषय थियो । तर पार्टीको मूली भएका कारण उनीहरुले आफ्नो समग्र वैचारिक, रणनीतिक र कार्यक्रमका जिम्मेवारी लिएर राजीनामा दिएका हुन् । तत्कालीन अवस्थामा उनीहरुको राजीनामा ‘लाइन पर्खेर बसेका’ हरुलाई तत्क्षण मिल्नेवाला लाभ थियो तर राजीनामा दिनेहरुको राजनीतिक कद बढाएको थियो ।

अहिलेको आम चुनावमा पार्टी अध्यक्ष तथा मन्त्रीहरु पराजित हुनुको विभिन्न कारणहरु होलान् । तर पार्टी नेतृत्वको जिम्मेदार व्यक्ति भएका र सरकारमा बसेर आमनागरिकमा सेवा प्रवाहको दायित्व लिएकाहरु पराजित हुनुको कारण आफ्नै ठाउँमा होला । पार्टीको वैचारिक लाइन, रणनीति, एजेन्डा मिलेन होला । तर त्यसको जिम्मेवारी पार्टीको मूलीहरुले लिनैपर्छ । यस्तै नैतिकताले नै पार्टीलाई गतिशील र जिम्मेवार बनाउँछ भन्ने आमअपेक्षा हो ।

सरकारमा रहेका पराजित मन्त्रीहरुको हारको तत्कालीन कारणलाई उनीहरुले ‘प्रवाह गरेको सेवा’ सँग तुलना गर्नुृपर्ने हुन्छ । सरकारमा ‘डेलिभर’ (सेवा प्रवाह) गर्नकै लागि गएको भनिएको कारण उनीहरु जनताद्वारा अस्वीकृत हुनुको अर्थ उनीहरुको कार्यशैली र सेवाप्रवाह जनअपेक्षाअनुसार भएन भन्ने हो । अबको केही दिनपछि पूर्ण रुपमा मतगणना र त्यसको नतिजा सामुन्ने आइसक्छ र नयाँ सरकार बन्नेछ । त्यतिबेला अहिलेका कुनै पनि मन्त्रीहरु रहनेछैनन् र अझ भनौं प्रतिनिधि सभाको निर्वाचनमा पराजितहरु झन् रहने कुरै भएन । आज नछाडे पनि भोलि त छाड्नैपर्ने हुन्छ । तर निर्वाचनको पराजय भोगिसक्दा पनि नैतिकतारुपी चेत नआउनुलाई नेताहरु अन्तिम समयसम्म पद छाड्दैनन् भन्ने मूल सन्देश प्रवाहित हुनेछ । 

यो निर्वाचनमा अघिल्लो सरकारका मन्त्रीहरुलाई पनि जनताले दण्डित गरेका छन् । केही अपवादका रुपमा वा भनौं विभिन्न राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व, दाउ र अन्तर्घातका कारण भ्रष्टाचार प्रकरणमा राम्रैसँग नाम उच्चारित भएका केही पात्रहरुले पनि यसपालि चुनाव जिते । यसलाई ‘लोकतन्त्रको अपवाद’ को रुपमा लिइन्छ । तर पार्टीभित्र कुण्ठा, तिरस्कार, घृणा, अन्तर्घात, च्याँखे थाप्ने प्रवृत्ति नभएको भए यस्ता पात्र अवश्य दण्डित हुने थिए ।

अर्कोतर्फ, सिद्धान्त मिले पनि नमिले पनि ‘ताक परे तिवारी नत्र गोतामे’ शैलीमा कहिले फलानो गठबन्धन त कहिले ढिस्कानो गठबन्धन गर्नेहरुलाई पनि जनताले दण्डित गरे । यसरी कुर्सीका लागि इमान र नैतिकता लिलामी गरेर पराजित भएका पार्टी अध्यक्षहरु पनि पदामा बिराजमान छन् । तिनलाई पनि पदमा बस्न सुहाउँदैन । यसले अन्ततः पार्टीमा शक्ति र भक्ति भएसम्म इमान र नैतिकताको दाल गल्दैन भन्ने सन्देश प्रवाहित हुन्छ । तसर्थ राजनीतिलाई संग्लो बनाइराख्न पराजित पदाधिकारीहरुले नैतिकता सापटी लिएर भए पनि देखाउनुपर्ने घडी घर्किसकेको छ ।