मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

समानुपातिकमा साना दलको मत ठूलालाई सांसद पद

काठमाडौं– निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगिरहेका बेला धेरैको चासो छ– यसपालि कुन–कुन दल राष्ट्रिय पार्टी बन्लान् ?

निर्वाचन आयोगको पछिल्लो आँकडाअनुसार हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात दल राष्ट्रिय दल बन्ने निश्चित छ । यी दलले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत ल्याउनुपर्ने ‘थ्रेसहोल्ड’ कटाएपछि राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । 

एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायत दलहरू राष्ट्रिय पार्टी बन्न संघर्षरत छन् । तर, यी दलले पाएको मतलाई हेर्दा उनीहरूलाई राष्ट्रिय पार्टीको मान्यता पाउन सहज देखिँदैन । 

राष्ट्रिय पार्टी बन्न नसक्नेहरूको मत के हुन्छ, त्यो मत कहाँ जान्छ ? उनीहरूको मत राष्ट्रिय पार्टीको मान्यता पाउने दलहरूले पाउँछन् । 

कसरी ?

यसलाई बुझ्न २०७४ प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणामलाई हेरौँ । 

०७४ निर्वाचनमा ४९ दल चुनावी मैदानमा होमिएका थिए । तीमध्ये एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल गरी ५ दलले मात्र समानुपातिकमा तीन प्रतिशत कटाएका थिए । 

उक्त निर्वाचनमा ९५ लाख ४४ हजार ७७९ सदर मत थियो । जसमा पहिलो हुने ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । जुन ३३ दलमलव २४ प्रतिशत हो । दोस्रो स्थानको कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत अर्थात् ३२ दशमलव ७७ प्रतिशत मत ल्याएको थियो ।

त्यस्तै, तेस्रो हुने माओवादीले १३ लाख ३ हजार ७२१ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत पाएको थियो । चौंथो स्थानको राष्ट्रिय जनताले ४ लाख ७२ हजार २५४ अर्थात् ४ दशमलव ९४ प्रतिशत मत ल्याएको थियो । 

यस्तै, सूचीको पाँचौ स्थानमा रहेको संघीय समाजवादीले ४ लाख ७० हजार २०१ अर्थात् ४ दशमलव ९२ प्रतिशत मत ल्याएको थियो । 

तत्कालीन विवेकशील नेपालीले र राप्रपा क्रमशः २ दशमलव २२ र २ दशमलव ०६१ प्रतिशत मत पाएका थिए । तर, राष्ट्रिय दलको तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेपछि उनीहरूको मत ठूला दलले पाए । यी दुई मात्र होइन, बाँकी ४२ दलले पाएको मत पनि पनि ठूला दलको पोल्टामा पायो । 

राष्ट्रिय पार्टीको थ्रेसहोल्ड कटाउन नसक्ने ४४ दलले सदर मतको ९ लाख ९६ हजार ७२० मत पाएका थिए । यो १० दशमलव ४४ प्रतिशत हो । यो सबै लाभ राष्ट्रिय पार्टी पाउने ती पाँच दलले पाए । 

यो लाभ प्राप्त गरेपछि उनीहरूको मतप्रतिशत बढ्यो, जसले उनीहरूलाई थप सांसद दिलायो । सुरुमा ३३ दशमलव २४ प्रतिशत भएको एमालेको पछि ३७ दशमलव १ प्रतिशत भयो । कांग्रेसको ३२ दशमलव ७७ मतप्रतिशत ३६ दशमलव ६ प्रतिशत पुग्यो ।

त्यस्तै, माओवादी केन्द्रको १३ दशमलव ६५ बढेर १५ दशमलव ३ हुन पुग्यो । राष्ट्रिय जनता पार्टी नेपालको ४ दशमलव ९४ प्रतिशत मत वृद्धि भएर ५ दशमलव भयो । संघीय समाजवादी फोरमको मत पनि वृद्धि भयो । उसको ४ दशमलव ९२ बाट ५ दशमलव ५ भयो ।

यसपालिको संघीय चुनावमा कुल ४८ दल सहभागी छन् । तीमध्ये सात दल राष्ट्रिय दल बन्ने निश्चित छ । बाँकी ४१ दलले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि ‘थ्रेसहोल्ड’ कटाउन सकेनन् भने उनीहरूको मत ठूला दलकै पोल्टामा पुग्नेछ ।