सामाजिक दूरीबिनै बस्दैछ प्रदेश सभा बैठक
प्रदेश सभा सचिव पोखरेल भन्छन्- अब दूरीसूरी छैन

पोखरा : नेपाली कांग्रेसले आइतबार केन्द्रीय सदस्यहरूको पिसिआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने निर्णय गरेको छ । आजका लागि बोलाइएको बैठक स्थगित गर्दै नेगेटिभ आउनेहरूलाई मात्र सामेल गर्दै १५ वैशाखमा बैठक बस्ने कांग्रेसको निर्णय छ ।
तर गण्डकी प्रदेश सभाको सोमबारको बैठक भौतिक दूरीबिना नै बस्दैछ । नदीपुरस्थित साँघुरो प्रदेश सभाभित्र संसद बैठक बस्नेछ । यही भवनमा प्रदेश सभाका छैटौं अधिवेशनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै सभागृहमा संसद बैठक राखिएको थियो । तर अहिले भने सामाजिक दूरीको ख्याल नगरी नदीपुरमै बस्न लागेको हो । ‘अब दूरीसूरी छैन, खोप लगाइसकेका छौँ, नदीपुरमै बैठक बस्छ,’ प्रदेश सभा सचिव हरिराज पोखरेलले इकागजसँग भने ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा निर्देशक विनोदविन्दु शर्मा भने खोप लगाउने ९६ प्रतिशतमा कोरोना नलाग्ने र भौतिक दूरी कायम गरेर बैठक बस्नु उचित हुने बताउँछन् । ‘दोस्रो चरणको खोप लगाउने ९६ प्रतिशतमा देखिँदैन भन्ने रिपोर्ट छ,’ उनले भने, ‘पहिला एकपटक दूरी कायम गर्न सभागृहमा गरेको थाहा थियो, अहिले कसरी बस्नुहुन्छ मलाई थाहा छैन ।’ खोपको २ डोज नै लगाएकालाई पनि कोरोना संक्रमण भएको उदाहरण पोखरामै फेला परेको छ ।
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबार सुरु हुँदैछ । विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । सामान्यतः अधिवेशनको सुरु दिन दलका नेताहरूले बोल्ने गरेपनि यो अधिवेशनमा भने त्यस्तो हुने छैन । प्रस्तावकले बोलेपछि सांसदहरूले अविश्वास प्रस्तावमाथि बोल्नेछन् । पहिलो दिनको बैठकमा कति सांसदले बोल्ने भन्ने टुंगो लागेको छैन् । सोमबार र मंगलबार सांसदहरूले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरूले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने कार्यव्यवस्था परामर्श समितिका सदस्य सांसद कुमार खड्काले जानकारी दिए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले ६ गते आह्वान गरेअनुसार १३ वैशाख सोमबार विशेष अधिवेशन बस्न लागेको हो ।
गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया