ढिलासुस्ती गर्ने निर्माण कम्पनीले बुझाए नगरसमक्ष कार्यविवरण

खोटाङ- खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिका समक्ष कार्य विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम गरिरहेको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले कार्य विवरण पेश गरेको हो ।
मेयर तीर्थराज भट्टराईले गत ३ कात्तिकमा पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्बद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।
उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुवै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले १६ मंसिरदेखि १३ पुससम्मको कार्यविवरण पेश गरेका हुन् । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले १६ मंसिरदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, २३ मंसिरदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, ३ पुसदेखि १० दिनसम्म बेस फिँजाउने र १३ पुसदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेको मेयर भट्टराईले बताए । कार्यविवरणमा विविध कारणले कालोपत्रेका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।
४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति छन् । बीचमा ‘ग्याप’ गरेको निर्माण कम्पनीले कालोपत्रेको कामलाई सुचारु गराएको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया