शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

सहकारीको बचत लिएर विदेश हिँड्ने सञ्चालक, कर्मचारीलाई कानुनी दायरामा ल्याइने

चरिकोट- सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले आज दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष काशीराज दाहालले बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएरसमेत बचत फिर्ता गर्ने गरी काम थालिएको जानकारी दिए ।

स्वदेशमै लुकेर बसेका समस्याग्रस्त सहकारीका सञ्चालक एवं कर्मचारीलाई भने राहदानी जफत, विदेश भ्रमणमा रोक एवं कालोसूचीमा राखी नाम सार्वजनिक गराउने तयारीमा पनि समिति रहेको जानकारी उनले दिए । सहकारी ऐन, कानुनअनुसार नचल्दा करिब एक हजार सहकारी समस्याग्रस्त भएको अनौपचारिक जानकारी पाए पनि हालसम्म १२ वटालाई मात्र सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

सरकारले घोषणा गरेका १२ वटा सहकारीमध्ये सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सबै बचतकर्तालाई समितिले बचत फिर्ता दिएको जानकारी पनि अध्यक्ष दाहालले गराए । बाँकी ११ सहकारीका बचतकर्तालाई पनि क्रमशः बचत फिर्ता गराउन यिनका सञ्चालक, कर्मचारी र ऋणीमाथि कानुनअनुसार हदैसम्मको कारबाही प्रक्रियामा समिति अघि बढ्न लागेको हो ।

करिब ८० प्रतिशत सहकारीका नियमन गर्ने दायित्व स्थानीय सरकारको भएकाले सातै प्रदेशका स्थानीय तहमा पुगेर सुशासनसम्बन्धी चेतनामूलक कार्यक्रम गर्न लागिएको समितिको कार्यालयका प्रमुखसमेत रहेका सदस्यसचिव केशवप्रसाद पौडेलले बताए । दोलखामा आजदेखि सुरु भएको दुई दिने कार्यक्रममा सिन्धुपाल्चोक, दोलखा र रामेछापका गरी १४ स्थानीय तहका सहकारी हेर्ने कर्मचारी, जिल्ला सहकारी सङ्घका पदाधिकारी गरी करिब ५० जनाको सहभागिता छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बद्रीराम घतानीले अनुचित ठाउँमा लगानी गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेको उल्लेख गर्दै सुशासनका लागि तीनै तहका सरकारसँगै सहकारी अभियानकर्मी पनि लाग्नुपर्नेमा जोड दिए ।

सहकारीले जुन कामका लागि ऋण दिएका हुन्छन् स्थलगत रूपमा हेर्दा त्यसमा लगानी नहुने गरेकाले पनि समस्या आउने गरेको उनले सुनाए । बचत तथा ऋण सहकारी फस्टाएर अरू गुमनाम भएकाले नियामक निकायको त्यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गर्दै समन्वय समिति प्रमुख घतानीले यसका लागि संयोजन गर्न आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।

भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले आर्थिक पारदर्शिता सहकारी एवं वित्तीय संस्थाको मुख्य विषय भएको बताउँदै कानुन पालना गरेमा सहकारीमा समस्या नआउने बताए । नगरपालिका सहकारीमा नियमन गर्न लागिपरेको जानकारी पनि उनले गराए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक जीवसराज खड्काले सहरी क्षेत्रका सहकारीले कानुन पालना नगरी समस्यामा पर्दा राम्रोसँग काम गरेका ग्रामीण भेगका सहकारीलाई पनि त्यही दृष्टिबाट हेर्ने गरिएको बताए । जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र सहकारी कानुनविपरीत जाँदा समस्यामा पर्ने क्रम बढ्न थालेको बताए ।

दोलखाका सहकारीमा देखिने गरी समस्या नआएको उल्लेख गर्दै उनले धेरै सहकारी सुशासनमै चलेको बताए ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन