आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

जनताको स्वास्थ्यमा खेलवाड नगर्न दाहालको आग्रह

काठमाडौँ  : माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेर जनतालाई राहत दिन छोडेर सरकार शिलान्यास र उद्घाटनमा केन्द्रित रहेको आरीप लगाएका छन् ।

दाहालले विज्ञप्तिमा लेखेका छन्, “स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनेको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्‍ने नेपाली जनसमुदायमा आशंका बढाएको छ ।”

उनले महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनतामा पर्ने भएकाले उनीहरूका लागि खाद्यान्‍न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रलाई समेत अपिल गरेका छन् ।  

अध्यक्ष दाहालले विश्‍व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रूपमा सचेत गराएको सन्दर्भमा तीनवटै तहका सरकार तथा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले स्वास्थ्य स्वमय्सेविका रूपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गरेका छन् । 

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका चिकित्सक, स्वास्थयकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै उनले स्वास्थ्य सुरक्षाको सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन सबैलाई विशेष अनुरोध गरेका छन् ।