आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

नेपाल सुपर लिग : ‘अभागी’ ललितपुर चितवनसँग रोकियो

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) मा सोमबार ललितपुर एफसी र एफसी चितवनले एक-एक गोलको बराबरी खेलेका छन् । ललितपुरले सुरुवाती गोल गर्दै खेललाई अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि पुरै तीन अंक बटुल्न सकेन । ललितपुरले पहिलो खेलमा काठमाडौँ रेजर्ससँग हार व्यहोरेको थियो । बलियो प्रदर्शन गरे पनि काठमाडौँसँग निराश बनेको ललितपुरले चितवनविरुद्धको खेलमा पनि उही नियति भोग्यो । 

खेलको सुरुवातमै पेनाल्टीमा चुक्दा ललितपुरले अग्रता लिने मौका गुमायो । १९ औँ मिनेटमा अन्जन विष्टको प्रहार चितवनका गोलरक्षक विशाल सुनारले विफल तुल्याए । त्यसको बीस मिनेटपछि ललितपुरले अग्रता बनायो । दशरथ रंगशालामा भएको खेलमा पहिलो गोल गर्ने खेलाडी थिए कमल श्रेष्ठले । 

फुलब्याक कमलले दायाँ विङ्ग्सबाट गरेको लामो प्रहार आकर्षक गोलमा परिणत भयो । कमलले प्रहार गरेको बलले पोष्टको बायाँ कुनाबाट गोलमा परिणत हुँदा चितवनका गोलकिपर विशाल पत्तो पाएनन् । दोस्रो हाफमा पनि ललितपुरले केही राम्रा आक्रमण बुन्यो । तर अग्रता दोब्बर बनाउन सकेन । न त भएकै अग्रता जोगाउन सक्यो । खेलमा ९० मिनेट कटिसकेको अवस्थामा चितवनले बराबरी गोल गर्‍यो । 

अमित तामाङको प्रहारलाई ललितपुरका मिडफिल्डर विनोद गुरुङले पेनाल्टी बक्स भित्र हातले रोक्ने प्रयास गरेपछि चितवनले पेनाल्टी पायो । जसलाई अमित आफैँले सजिलै गोलमा परिणत गरे ।  आफ्नो टिमले पेनाल्टीमा गोल गर्न नगर्ने तर पेनाल्टीमै गोल खाने भएपछि ललितपुरका मुख्य प्रक्षिक प्रदिप हुमागाईंले आफूहरु अभागी साबित भएको प्रतिक्रिया दिए । ‘फुटबलमा भाग्यको कुरा गरिरहन त मन लाग्दैन । तर सुरुवाती दुई खेलको नतिजा हेर्दा हामीलाई भाग्यले साथ नदिएको हो की जस्तो अनुभुती भएको छ,’ खेलपछि प्रदीपको भनाइ थियो । 

दुई खेलबाट एक अंक मात्रै बटुलेको ललितपुरका मुख्य प्रशिक्षक प्रदिपले आफू र आफ्नो टिम अझै निराश नभइसकेको पनि दाबी गरे । ‘हामी अझै सकारात्मक नै छौँ । खेलाडीमा उर्जाको कमी पनि आएको छैन । अबका बाँकी पाँच खेल जित्ने गरी खेल्छौँ,’ प्रदिपले भने । 

लिगको सुरुवात बराबरीबाट गरेको चितवनका मुख्य प्रशिक्षक मेघराज केसी सन्तुष्ट देखिए । सुरुमै दुई विदेशी खेलाडी परिवर्तन गर्नुपरेपछि आफ्नो टिम दबाबमा परेको पनि मेघराजको भनाई थियो । ‘एउटा विदेशी खेलाडी घाइते भए । अर्का पहिलाबाटै बिरामी थिए । ती दुईलाई सुरुमै परिवर्तन गर्नुपरे पछि टिम सेट हुन सकेन । जसका कारण हामीले साचे अनुसारको खेल देखाउन सकेनौँ । अन्ततः हामीले बराबरी खेल्यौँ । एक अंक भएपनि बटुल्दा म खुशी नै छु,’ मेघराजले भने ।

चितवनका विदेशी मिडफिल्डर एमहद मोहम्मद अस्वस्थ देखिए भने एलसायद गोरान चोट बोक्दै मैदान बाहिर निस्केका थिए । एनएसएलमा मंगलबार पनि एक मात्रै हुनेछ । आइतबार विराटनगर सिटी एफसीसँग हारेका धनगढी एफसीले उद्घाटन खेल जितेको काठमाडौँ रेजर्सको सामना गर्नेछ ।