सरकारले टेरेन मानव अधिकार आयोगलाई

मकवानपुर- मानव अधिकार उल्लंघन गरेको आरोप लागेको व्यक्ति तथा संस्था उपर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरेर कारबाहीका लागि सरकारलाई गरेको सिफारिस अनुसार काम नभएको पाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग सरकारको संवैधानिक अंग हो । मानव अधिकारविरुद्ध भएको गतिविधिमा आयोगले कारबाही आवश्यक भनी सरकारलाई कारबाही गर्न गरिएको सिफारिस कार्यान्वयन नभएपछि आयोगलाई सरकारले नटेरेको स्पष्ट भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले गत आर्थिक वर्षमा कारबाहीका लागि सरकारलाई सिफारिस गरेको १५७ वटा मुद्दा अझै विचाराधीन रहेको छ ।
'हामीकहाँ आएका उजुरी उपर हामीले गहिरो अनुसन्धान गरेर कारबाहीका लागि सिफारिस गर्छौं, तर सरकारले त्यसको किनारा लगाएको छैन,' आयोगका बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले भने, 'सरकारको समन्वय र सहकार्य उत्साहजनक भएन ।' संयुक्त राष्ट्र संघले जारी गरेको प्रतिबद्धता अनुसार काम हुन नसकेको गुनासाे उनले गरे । देशभरबाट परेको मानव अधिकार उल्लंघनका उजुरी मध्ये यस प्रदेशमा मात्रै ३३ प्रतिशत रहेको अधिकारीले बताए ।
जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दीगो शान्ति र समृद्धिको आधार भन्ने नाराका साथ आयोजित ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको कार्यक्रम अधिकारीले यस्तो बताएका हुन् ।
'मानव अधिकार आयोगले सिफारिस गरेको मुद्दा कार्यान्वयनमा सन्तोषजनक छैन, हामीले सिफारिस गर्छौं, सरकारले कार्यान्वयन गरेको छैन,' अधिकारीले भने ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालय बागमती प्रदेश सरकार मन्त्री सन्तबहादुर चेपाङले सरकारलाई मानव अधिकार प्रत्याभूत गर्न नसकेकोमा गुनासो धेरै तर सहकार्य कम हुने गरेको बताए । केही सवालमा भने सरकारले पनि ध्यान दिन बाँकी रहेको उनले बताए ।
चेपाङ लगायतको सिमान्तकृत समुदायको समस्या मानव अधिकारको संरक्षण र प्रत्याभूत हुनेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाएको उनले बताए ।
कानुन बनाए पनि केही विषयमा ऐन नबन्दा पूर्ण नभएका कारण समस्या भएको बताउँदै साझा अधिकार सूची अन्तर्गतका कानुन बनाउन र कार्यान्वयनमा लैजान प्रदेश सरकारले अब ध्यान दिने उनकाे भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले संविधानले सुनिश्चित गरेको व्यवस्थाको कार्यान्वयनमा चुनौती भएको बताए । सरकारको दीगो विकासको लक्ष्य पूरा गर्ने क्रममा स्थानीय सरकारले पनि समन्वय गर्ने उनले बताए ।
कार्यक्रम बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विनोदकुमार भट्टराईले मानव अधिकारको सवाल सरकारको प्राथमिकताको विषय रहेको र गैसस तथा सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रम मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, गैसस मकवानपुर अध्यक्ष कृष्णप्रसाद धिताललगायतको उपस्थिति रहेको थियो ।
सरकारले भौतिक संरचना निर्माण गर्दा कमजोर बनाइँदा पनि मानव अधिकार हनन भएको आयोगका प्रदेश प्रमुख अधिकारीले बताए । सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको सवाल, मौसम परिवर्तन र विकासको क्रममा पनि मानव अधिकार उल्लंघन भैरहेको उनले बताए । अपाङ्ग भएकाहरू, सिमान्तकृत समुदायमा हुने विभेद, नागरिकताको विवाद जस्ता सवाल पनि मानव अधिकार उल्लंघनको सवाल भएको उनले बताए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया