आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

जलविद्युत आयोजनामाथि आक्रमणको इप्पानद्वारा भर्त्सना

तस्वीर : सामाजिक सञ्‍जाल

काठमाडौं -  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शनिबार चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रबर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन रहेको चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) मा भएको तोडफोड र आगजनीको भर्त्सना गरेको छ । घटनाको आइतबार इप्पानले एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख गरेको छ ।

‘राइनास नहरसँगको सरोकारको बिषयमा भएको असमझदारीपश्चात घटाइएको यस्तो उच्छृङ्खल तथा अराजक घटनाको इप्पान घोर भर्त्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै हरेक आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबिचको कुनै पनि असमझदारी आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ इप्पान जोड दिन चाहन्छ ।’    

विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको भन्दै इप्पानले एक पक्षीय ढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रबद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका उच्श्रृङ्खल, अराजक र उद्दण्ड गतिबिधि हुने गरेको जनाएको छ ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै  समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहेको उल्लेख गरेको छ । 

इप्पानले परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउन माग गरेको छ । 

‘तत्काल यस घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन ईप्पान सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा छ ।