प्रदेश निर्वाचन कार्यालय वाग्मतीले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

मकवानपुर । वाग्मती प्रदेश निर्वाचन कार्यालयले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई गत मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को अन्तिम प्रतिवेदन प्रदेश निर्वाचन आयोगले प्रदेश प्रमुख शर्मालाई बुझाएको हो ।
प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ । निर्वाचित सांसदहरुको पहिलो बैठक पुस पहिलो साता बोलाउने तयारी भएको वाग्मती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ ।
पहिलो बैठक आव्हान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सांसदहरु मध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्ने छ । संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।
ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य सभाका सदस्यहरुलाई शपथग्रहण गराउन प्रदेश सभा सचिवालयले सम्पूर्ण दल र सदस्यहरुमा सूचना जारी गर्छ । शपथ ग्रहणपछि सम्बन्धित दलहरुसँग सम्पर्क स्थापित गर्ने र दलहरुलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम प्रदेश सभा सचिवालयको हुने व्यवस्था छ ।
सबै दलहरुसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनका काम पनि प्रदेश सभा सचिवालयले गर्नेछ । सभामुखको निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसदमा बोल्नुपर्ने हुन्छ । त्यस्ता प्रस्तावक र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ । एक भन्दा बढी प्रस्ताव आए दर्ता क्रम अनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ । प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । एक मात्र प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नेछन् ।
यसरी चुनिन्छ मुख्यमन्त्री
प्रतिनिधि सभाको बैठकबाट नै मुख्यमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ र, निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ ।
तर यो निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया