सम्पन्न नहुँदै सुनकोसीको पुल सञ्चालनमा
पुल बन्यो, सडकको बेहाल

खोटाङ- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको काम सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको काम सम्पन्न नहुँदै बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । पूर्ण रूपमा पुलको काम नसकिए पनि गाडी वारपार गर्न मिल्ने अवस्था बनेपछि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, उपाध्यक्ष रूपेश राई लगायतको उपस्थितिमा सञ्चालनमा ल्याइएको हो ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा बनेको १२० मिटर लम्बाई भएको पुलको वेरिङकस, रंगरोगन लगायतका काम बाँकी नै छ । खोटाङको ‘वेटिङ प्रोजेक्ट’का रूपमा रहेको पुल निर्माण सामग्री तथा उपभोग्य सामग्री ढुवानीका लागि बनिनसक्दै सञ्चालनमा ल्याइएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए ।
२०७५ सालमै बनिसक्नु पर्ने पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण चार वर्ष ढिला गरी अन्तिम चरणमा पुगेको हो । फोक्सिङटारमा पुल सञ्चालनमा ल्याइएसँगै खोटाङलाई पूर्वी शहर जोड्ने छोटो दूरीको स्थायी नाका खुलेको छ । पुलका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी आउने अपेक्षा गरिएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि जिल्लाका नेता बीचमा ‘जसलिने’ होड नै चलिरहेको छ । गत ४ मंसिरको चुनावमा कतिपयले फोक्सिङटार पुललाई चुनावी एजेण्डा नै बनाएका थिए ।
फोक्सिङटारमा २२ चैत २०७३ भित्र ‘सस्पेन्सन’ ब्रिज बनाउने गरी २३ चैत २०६९ मा सम्झौता गरिएको थियो । तर, २०७३ साल कात्तिकमा डिजाइन परिवर्तन गरेर मुग्लिनको जस्तो ‘आर्क’ ब्रिज निर्माणको काम अघि बढाइएको थियो । कामै नगरी २२ चैत २०७३ सम्मको म्याद सकिएपछि पुनः २०७५ साल चैत ३० गतेसम्मका लागि सम्झौता अवधि लम्ब्याइएको थियो । तर, सो अवधिमा पनि पुलको काम नभएपछि नवौं संशोधन अनुसार पुलको प्रथम म्याद १३ पुस २०७७ सम्म थप भएको थियो । पुनः कोभिड–१९ को महामारीलाई कारण देखाएर दोश्रो पल्ट थप भएको म्याद १२ असार २०७८ मा सकिएपछि पुनः २०७८ चैतसम्मका लागि तेश्रो म्याद थप भएको थियो ।
फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएससहित)मा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको थियो । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै तत्कालीन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गृहमन्त्री समक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए ।
ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लावासीले पटक–पटक विरोध गर्दै आएका छन् ।
ढिलासुस्तीका विरुद्ध २०७२ माघ २४ गते सडक विभागमा धर्ना दिएका जिल्लावासीले पुनः २०७२ चैत २३ गते घेराउ गरेका थिए । सडक विभाग घेराउका क्रममा सांसद, नेता र जिल्लावासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । २०७२ चैत २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा विरोध र्याली निकालेको थियो ।
हट्यो बेलिब्रिजको सकस
गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने गरिएको थियो । बेलिब्रिजमार्फत यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्थे । बेलिब्रिज राख्ने र झिक्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।
फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । तर पुलका कारण फोक्सिङटारमा बेलिब्रिज राख्नुपर्ने वाध्यता हटेको छ ।
खुल्यो पूर्व जोड्ने नाका
फोक्सिङटारमा ‘आर्क’ ब्रिज सञ्चालनमा आएपछि दिक्तेल–गाईघाट सिधा यातायात सेवा सुरु भएको छ । पुल सञ्चालनमा ल्याइएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा जाने दोश्रो र छोटो बाटो खुलेको छ ।
पुलका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङ यातायात प्रालीका महासचिव रामकुमार हिङमाङले बताए । पुलका कारण बार्हैमास दिक्तेलबाट पूर्वी सहर आउ–जाउ गर्ने छोटो मार्ग खुलेको हो ।
पुल बन्यो, सडकको बेहाल
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत सुनकोसीमा बनिनसक्दै पक्की पुल सञ्चालनमा ल्याइएको छ । तर सो पुलसँग जोडिएको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम भने अत्यन्तै सुस्त छ । महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ ।
पुल उद्घाटनमा हतारो भइरहँदा सोही पुलसँग जोडिएका सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा भने एक/दुईको मात्र ध्यान गएको देखिन्छ । कालोपत्रेको काम नहुने हो भने वर्षामा सडक हिलाम्मे हुने र पुल उपयोग नहुने चिन्ता उत्तिकै छ । दमन राई/न्युज कारखाना
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_ttZhEMatQh_xqgosreh1hj1mceigjri5smsbuek6h0wfhwfxskmyb6qghnkmxubbpuloh08.jpg)
प्रतिक्रिया