विश्व बैंकले दिएको ऋणमा अक्सिजन सिलिन्डर किन्दै सरकार
२० हजार सिलिन्डर अनुदानमा ल्याउन कूटनीतिक पहल

काठमाडौं : सरकारले विश्व बैंकले दिएको ऋणबाट अक्सिजन सिलिन्डर खरिद गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि अक्सिजन सिलिन्डरसँगै पीसीआर, आरएनए र भीटीएम लगायतका सामग्री खरिद गर्न लागेको हो ।
विश्व बैंकले कोभिड-१९ रोकथामका लागि सरकारलाई ७ करोड ५० लाख अमेरिकी डलर ऋण दिइसकेको छ । सोही ऋणबापत सामग्री खरिद गर्न लागेको विभागले जानकारी दिएको छ ।
बैशाख १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको अभाव हुन नदिन आवश्यक सबै व्यवस्था गर्ने निर्णय गरेको थियो । पर्याप्त अक्सिजन सिलिन्डर उपलब्ध हुने गरी आयात गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
एक हजार सिलिन्डरका लागि खरिद प्रक्रिया अघि बढाएको विभागका खरिद प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए । गत माघमा पनि विभागले एक हजार सिलिन्डर खरिद गरी अस्पतालहरूमा बाँडेको थियो । तर, दोस्रो भेरियन्टको कोभिड-१९ संक्रमित बिरामीको संख्या बढ्दै गएपछि खरिद प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।
सिलिन्डरका लागि अस्पतालहरूले समेत खरिद प्रक्रिया अघि बढाए पनि माग अनुसार सिलिन्डर अझै अपुग हुने ढुंगानाले बताए । 'विभागबाहेक अन्य अस्पतालहरूले समेत अक्सिजन सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढाइरहेका छन्,' उनले भने, 'तर, त्यसरी खरिद भएका सिलिन्डर माग अनुसार पर्याप्त भने हुने छैन ।'
२० हजार सिलिन्डर अनुदानमा ल्याउन कूटनीतिक पहल
तत्काल खरिद गर्न सम्भव नभएमा सहायतास्वरुप सिलिन्डर प्राप्त गर्न कूटनीतिक पहल गर्ने उनले जानकारी दिए । 'सञ्चालनमा नरहेका अक्सिजन प्लान्टको तत्काल मर्मत सम्भार गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउने,' गुरुङले भने ।
विभागले २० हजार सिलिन्डरका लागि जोहोसमेत गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए । खरिद प्रक्रिया अनुसार ढिलाइ हुने भएकाले अन्य स्रोतमार्फत सिलिन्डर खरिद गर्नुपर्ने भएको ढुंगानाले जानकारी दिए । बोलपत्र आह्वानमार्फत सिलिन्डर खरिद नगर्दा सरकारले सोझो खरिदको प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय दाताबाट अनुदानमा सिलिन्डर ल्याउन पहल गर्ने अर्को माध्यम हुनसक्ने उनले बताए ।
सिलिन्डरको आयातमा कर छुट
मन्त्रिपरिषद्को बैशाख १३ गते बसेको बैठकले अक्सिजन सिलिन्डर आयातमा कर छुट दिने निर्णय गरेको समेत सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । सिलिन्डरको आयातमा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लाग्दै आएको छ ।
अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरिरहेका थिए । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि त्यसका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया