आइतबार ३१ चैत, २०८१
Sunday, April 13, 2025

जनमोर्चाका सांसद गायब : खोज्‍न गएका तीन सांसद रित्तोहात फर्किए

पोखरा  : गण्डकी प्रदेशका दुई सांसद प्रदेश सभा बैठकमा अनुपस्थित भएका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही अहिलेसम्म प्रदेश सभा बैठकमा अनुपस्थित छन् । उनीहरु दुबै मोबाइल स्वीच अफ गरेर बसेका छन् ।  आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने सम्भावना छ । यदि आजै मतदान भए र उनीहरु उपस्थित नभए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगिने छ भने अविश्वासको मत फेल हुनेछ । 

गण्डकी सरकार ढाल्न निर्णायक मानिएको जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध मतदान गर्ने निर्णय गरे पनि शाही प्रदेश सभामा उपस्थित नभएपछि अविश्वासको मत फेल हुने संकेत देखिएको हो । शाहीलाई खोज्न जनमोर्चा, कांग्रेस र जसपाका तीन सांसद गए पनि उनीहरुले फेला पार्न सकेनन् ।  शाहीलाई खोज्न जनमोर्चाकी पियारी थापा, कांग्रेसका मेखलाल श्रेष्ठ र जसपाकी धनमाया लामा गए पनि रित्तोहात फर्किएका हुन् ।  

'माननीयहरू गाडी लिएर जानु भएको थियो तर, शाही माननीय कतै भेटिनु भएनछ,' कांग्रेसका एक सांसदले इकागजसँग भने । ६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । गण्डकीमा एमालेको २७ सांसद छन् । एमालेलेलाई स्वतन्त्र सांसद राजीव गुरुङको पनि समर्थन छ । त्यसरी एमालेको पक्षमा २८ मत छ । त्यस्तै कांग्रेसका १५ र माओवादी केन्द्रका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । केही गरी अविश्वाको पक्ष र विपक्षमा बराबर मतदान भए सभामुखले निर्णायक मतदान गर्न पाउँछन् । 'बराबर हुने अवस्था आए सभामुखले निर्णायक मत दिन पाउँछन्' संसद्‍का पूर्वसचिव मुकुन्द शर्माले इकागजसँग भने ।