शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्‍ने, कांग्रेस केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षी

काठमाडौँ– सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा तत्कालीन सत्ता गठबन्धनको सस्साकस्सीबीच सहमति हुन नसकेपछि एमाले–माओवादी सहितको नयाँ गठबन्धनबाट सरकार बनेको छ । आइतबार राष्ट्रपतिले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छन् । आज प्रधानमन्त्रीको सपथ हुँदैछ । एमाले माओवादीको गठबन्धमा राप्रपा, स्वतन्त्र राष्ट्रिय पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टी, जसपा र केही स्वतन्त्र सांसद्को समेतको साथ छ ।  केन्द्रको सत्ता समीकरणमा बदलाव आएसँगै प्रदेश सरकार पनि नयाँ गठबन्धनको बन्ने भएको छ । केन्द्रमा बनेकै गठबन्धन कायम रहे सातै प्रदेशमा यही गठबन्धनकै सरकार बनाउने पक्का–पक्की भएको छ भने कांग्रेस केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षी हुने भएको छ ।  

हालको अंकगणित अनुसार सातवटै प्रदेशमा  एमाले–माओवादी गठबन्धनको सरकार बन्ने देखिए पनि प्रदेश १ बाहेकका प्रदेशमा साना दलको साथ अनिवार्य देखिएको छ । यदि उनीहरूले गठबन्धनको साथ छाडे एमाले माओवादीलाई मात्रै सरकार बनाउन भने असम्भव देखिन्छ । 

प्रदेश–१ मा  मा एमाले–माओवादीकै बहुमत
आयोगको नतिजा अुनसार ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले प्रत्यक्ष र समानुपातिक गरेर सबैभन्दा ठूलो दल बनेको छ । एमाले एक्लैले यहाँ ४० सिट जितेको छ । यस्तै कांग्रेस २९ सिट जितेर दोस्रो दल बनेको छ भने माओवादीले १३ र राप्रपाले ६ सिटमा जित हात पारेका छन् ।  यस्तै एकीकृत समाजवादीले ४ सिट र जनता समाजवादी पार्टीले समानुपातिकबाट १ सिट जितेका छन् ।

यो नतिजाले प्रदेश १ मा सरकार एमाले–माओवादी मिलेर सजिलै सरकार बनाउन सक्षम देखिन्छ । सरकार बनाउनका लागि प्रदेश सभामा ४७ सिट आवश्यक पर्छ । तर, गठबन्धनका दल एमाले–माओवादी मत जोडदा नै ५३ पुग्छ । अझै गठबन्धनमा सहभागि राप्रपाको ६ र जसपाको १ मत जोड्दा प्रदेश १ मा एमाले–माओवादी सहितको गठबन्धनको सिट संख्या ६० पुग्छ ।  यसबाहेकका दल कांग्रेस र एकीकृत समाजवादी भने सत्ता बाहिरै बस्ने निश्चित भएको छ । 

मधेश र लुम्बिनी प्रदेशमा गठबन्धनलाई जनमत, जसपा र उन्मुक्ति साथ अनिवार्य
१०७ सदस्यीय मधेश प्रदेश सभामा २३ सिट ल्याएर एमाले पहिलो दल बनेको छ । तर, सरकार बनाउन भने एमाले एक्लैको मत पुग्दैन । यस प्रदेशमा सरकार बनाउनका प्रदेश सभामा ५४ सिट पुर्‍याउनु पर्छ । तर एमालाई यो संख्या पुर्‍याउन सहज छैन । माओवादीको ८ सिटले पनि सरकार बन्दैन । त्यसैले यहाँ सरकार निर्माणमा  मधेशवादी दल जनमत पार्टी र जसपाको साथा अनिर्वाय छ । 

यहाँ कांग्रेसको २२ सिट छ । त्यसबाहेक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीको सांसद संख्या ९ छ । 
 तर, मधेसीका दलको साथ नपाएमा भने एमाले–माओवादीलाई सरकार बनाउन कठिन हुने मात्रै होइन असम्भव नै हुन्छ । तर, केन्द्रको राजनीतिक देखिएको परिदृष्यले मधेशमा एमाले–माओवादी गठबन्धनकै सरकार बन्ने सम्भावना देखिन्छ । किनकि मधेशका दलले नयाँ गठबन्धनलाई साथ दिएर सत्ता समीकरमा सहभागि भइसकेको छ । तर, मधेश प्रदेशको सरकारको भागबण्डामा विवाद भए अर्को समीकरण बन्न सक्ने सम्भावन पनि बाँकी रहेको छ । त्यसैले मधेश प्रदेशमा सरकार बनाउन मधेशी दलहरू नै निर्णयक हुने देखिन्छ । यहाँ ६ जना स्वतन्त्रहरूले पनि जितेको हुँदा उनीहरूको मत पनि निर्णायक बन्न सक्ने देखिन्छ । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा पनि एमाले–माओवादीको गठबन्धनलाई सरकार बनाउन जनमत र नागरिक उन्मुक्ति पार्टीकै साथ अनिर्वाय देखिएको छ । यो प्रदेशमा सरकार बनाउनका लागि ४४ सिट आवश्यक पर्छ । गठबन्धनका दलहरू एमाले र माओवादीको मत जोड्दा ३८ मात्रै पुग्छ । त्यसैले सरकारका लागि जनमत र उन्मुक्तिले साथ दिँदा सरकार बनाउन पर्याप्त हुन्छ । यस प्रदेशमा जनमत पार्टी ले ३ र उन्मुक्ति पार्टीले ४  सिट ल्याएको छ । यस्तै जसपाको पनि यस प्रदेशमा ३ सिट छ ।

यसबाहेक गठबन्धन बाहेक कांग्रेसले २७, एकीकृत समाजवादीको ३ जनमोर्चाको १ सिट आएको छ ।  त्यसैले हालसम्मको सत्ता समीकरण हेर्दा यहाँ एमाले–माओवादी गठबन्धनकै दलको सरकार बन्ने संम्भावना बलियो छ । 

बागमती र गण्डकीमा एमाले, माओवादी र राप्रपाको बहुमत
बागमती प्रदेशमा एमाले, माओवादी र राप्रपाको सरकार बन्ने भएको छ ।  बागमती प्रदेशको जम्मा सिट संख्या ११० हो । यहाँ सरकार बनाउनका लागि ५६ सिट चाहिन्छ । तर, एमाले, माओवादी र राप्रपा तीन दलको मत जोड्दा ६१ मत पुग्छ । त्यसैले यहाँ संघको समीकरण कायम भएमा यही गठबन्धनले सरकार सजिलै बन्नेछ ।  यस प्रदेशमा कांग्रेसले ३७, माओवादीले २१ र एकीकृत समाजवादीको ७ सिट जितेका छन् ।  यस्तै एमालेले २७, राप्रपाले १३, नेमकिपाले ३ र हाम्रो नेपाली पार्टीले २ सिट ल्याएको छ । 

गण्डकी प्रदेशमा २७ सिट ल्याएर कांग्रेस पहिलो दल बनेको छ । तर सरकार भने कांग्रेसको नबन्ने देखिएको छ । यहीँ एमाले, माओवादी र राप्रपाको सरकार बन्ने देखिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठनका लागि ३१ सिट चाहिन्छ । एमाले, माओवादी र राप्रपाको मत जोड्दा ३१ पुग्छ । त्यसैले गण्डकीमा पनि यही गठबन्धनकै सरकार बन्ने सम्भावना छ । यस प्रदेशमा एमालेले २२ सिट, माओवादीले ७ र राप्रपाले २ सिट जितेका छन् । 

 कर्णालीमा एमाले–माओवादीको बहुमत
४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । यस प्रदेशमा गठबन्धनका दल एमाले र माओवादी सिट संख्या २३ पुग्ने भएकाले यहाँ पनि सरकार बनाउन कुनै सकस छैन । यस प्रदेशमा १४ सिट ल्याएर कांग्रेस पहिलो र १३ सिट ल्याएर माओवादी दोस्रो दल बनेका छन् । यस्तै १० सिट ल्याएको एमाले तेस्रो शक्ति बनेको छ  भने समाजवादी, राप्रपा र स्वतन्त्रले समान १–१ सिट जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादीलाई उन्मुक्तिको साथ अनिर्वाय
सुदूरपश्चिम प्रदेशमा पनि एमाले–माओवादी गठबन्धनको बहुमत छ । ५३ सदस्यीय यस प्रदेश सभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ । तर, एमाले, माओवादी र र नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा २८ पुग्ने भएको यहाँ पनि यही गठबन्धनकै सरकार बन्ने पक्का देखिन्छ । यो प्रदेशमा कांग्रेसले १९ सिट ल्याएर पहिलो दल बनेको छ भने माओवादी ११ सिटसहित दोस्रो दल भएको छ । यस्तै एमालेले १०, नागरिक उन्मुक्तिले ७ र एकीकृत समाजवादीले ४ सिट ल्याएका छन् । राप्रपाले एक सिट जित्दा स्वतन्त्रले पनि एउटा सिट जितेको छ । 

माथिको आँकडाले सातै प्रदेशमा एमाले–माओवादीको सरकार बन्ने देखिएको छ । तर, त्यसका लागि गठबन्धनका साना दललाई पनि एमाले–माओवादीले अनिर्वाय साथ लिनुपर्छ । तर, संघको समीकरण फेरिने अवस्था भएमा प्रदेशको समीकरणमा पनि असर पर्ने देखिन्छ ।