आइतबार ३१ चैत, २०८१
Sunday, April 13, 2025

बिहान नेगेटिभ, दिउँसो पोजेटिभ र अहिले आईसियूमा भर्ना

पोखरा : गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उनकै दलकी सांसद पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गर्न पत्र दिएकी थिइन । सोही पत्रानुसार सभामुख नेत्रनाथ अधिकारीले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गरिदिएका हुन् । 

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । सदनमा बुधबार २० जना सांसदले बोलेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र मतदान गर्ने भनिएपनि सांसद अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । सांसद शाहीले मत नहाल्दा विपक्षी मोर्चाले पेस गरेको अविश्वास प्रस्ताव फेल हुन्छ । एमालेका माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा भने सरकार ढल्ने थियो । तर सांसद नआएपछि विपक्षी मोर्चा सशंकित भएर बैठक स्थगनको माग गरेको थियो । 

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले शाहीबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । सदन सुरु हुनु अगाडि फोनमा कुरा भए पनि त्यसपछि शाहीसँग सम्पर्क नभएको उनले बताए । ‘उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो । मतदान हुँदासम्म आउँछु भन्नुभएको थियो, अहिले कहाँ जानुभयो थाहा भएन,’ उनले भने ।

शाहीलाई खोज्न जनमोर्चा, कांग्रेस र जसपाका ३ सांसद गए पनि उनीहरुले फेला पार्न सकेनन् । शाहीलाई खोज्न जनमोर्चाकी पियारी थापा, कांग्रेसका मेखलाल श्रेष्ठ र जसपाकी धनमाया लामा गए पनि रित्तोहात फर्किएका हुन् ।  ’माननीयहरू गाडी लिएर जानु भएको थियो तर, शाही माननीय कतै भेटिनु भएनछ,’ कांग्रेसका एक सांसदले इकागजसँग भने । 
६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । खिमविक्रम शाहीलाई समेत अंक गणितमा सामेल गरेर कांग्रेस नेतृत्वको मोर्चाले ३१ सांसद पुग्ने आँकलन गरेको थियो । यता सत्तारुढ एमालेसँग एक स्वतन्त्र सांसद सहित २८ सांसद छन् । 

शाहीका स्वकीय सचिव मिलन हमालले शाही अस्वस्थ भएर चरक मेमोरियल अस्पतालमा भर्ना भएको बताएका छन् । मध्यान्ह १२ बजे स्वास्थ्यमा गडबडी आएपछि उनलाई अस्पताल भर्ना गरिएको उनले बताए । अस्पताल स्रोतले पनि शाही अस्पतालको आईसियूमा रहेको पुष्टि गरेको छ । ‘आईसियुमा हुनुहुन्छ, कोरोनाको लक्षण छ,’ अस्पताल स्रोतले भन्यो । तर मंगलबार प्रदेश सभाले गराएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

                     शाहीको कोभिड रिपोर्ट नेगेटिभ रहेको पत्र 

सदनमा मतदानका दिन अनुपस्थित हुने शाही एक्ला सांसद भने होइनन् । मनाङ ‘ख’बाट निर्वाचित दीपक मनाङे पनि बुधबार अनुपस्थित थिए । उनले आफूलाई मनाङका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध मत नहाल्न भनेपछि सदनमा अनुपस्थित भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई मेरा मनाङका जनताले पिएसविरुद्ध  नलाग्न भनेपछि म नगएको हुँ,’ उनले भने । 

एमाले सांसद धनञ्जय दवाडीले इतिहासमै नभएको घटना सभामुखले गण्डकीमा गराएको बताएका छन् । सांसद अनुपस्थित हुँदैमा सदन स्थगित गर्नु दलीय राजनीतिबाट प्रेरित काम भएको र अलोकतान्त्रिक रहेको उनले बताए । ‘संसारमै नभएको घटना गण्डकीमा सभामुखले घटाउनुभयो, भोलिबाट एक जना सांसद अनुपस्थित भए पनि स्थगित गर्दै जानुपर्छ,’ उनले भने, ‘होइन भने सभामुखले तत्कालै राजीनामा दिनुपर्छ ।’