नवनियुक्त सांसद भन्छन् : कर्णालीको समृद्धिका लागि एकजुट हाेऔँ

सुर्खेत- कर्णालीका नवनियुक्त सांसदहरूले कर्णालीको समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । प्रदेशसभाको पहिलो अधिवेशनमा बोल्ने सांसदहरूले प्रदेशको समृद्धिका लागि प्रदेशसभा सबै सांसदहरू एकजुट भएर अघि बढ्नुपर्ने औंल्याए ।
कर्णाली सरकारका मुख्यमन्त्री एवं काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विपक्ष भनेको रोग, भोक र अशिक्षा रहेको बताए ।
‘कर्णालीमा विपक्ष भनेकै रोग, भोक र पछौटेपन हो, मुलुकको राजनीतिक परिस्थिति जुन बाटोमा गए पनि हामी कर्णालीमा एक हुनुपर्छ,’ मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता शाहीले भने, ‘हामीले राम्रा कानुन बनाउनुपर्छ, यति गरेमा कर्णाली पछाडि परेको छ भन्नुपर्दैन ।’
नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले अहिले पनि कर्णाली प्रदेश सबै सूचकांकमा पछि परेकाले यसलाई सुधार गर्नतर्फ अघि बढ्न आग्रह गरे ।
कर्णालीमा एमाले प्रतिकूल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुद पनि पहिलो पार्टी बनेको दाबी गरेका छन् । साथै कँडेलले अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू भइरहेको बताए । ‘हामीले स्थापना गरेको प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी हामीले काम गर्नु जरुरी छ, यसमा नेकपा एमालेको भूमिका सधैं रहने छ,’ कँडेलले भने, ‘अहिले राजनीतिक दलहरू प्रदेश बनाउनेभन्दा पनि आफू बन्ने तर्फ लाग्दा जनतामा वितृष्णा जागेको देखिन्छ ।’
नेकपा माओवादी केन्द्रका संसदीय दल नेता राजकुमार शर्माले समृद्ध समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । ‘सुनको डल्लो’लाई गहना बनाउनका लागि जनताले हामीलाई कालिगड बनाएर पठाएका छन्, हाम्रो अगाडिको चुनौती गहनाका रूपमा प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विषय छ,' उनले भने, ‘त्यसमा वृहत् बहस हुन जरुरी छ ।’
शर्माले कर्णालीको गरिबीविरुद्ध लड्नका लागि साझा अवधारणा आवश्यक रहेको औंल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीले भ्रष्टाचारको अन्त्य गर्न बलियो कानुन बनाउन दलहरूले सहकार्य गर्नुपर्ने बताइन् । ‘अहिले देशमा विदेशी हस्तक्षेप बढेको छ । नेपालमा आन्दोलन र जनयुद्ध सम्झौतामा टुंगिएका छन्,’ शाहीले भनिन्, ‘राजसंस्था हटाउने गलत निर्णयका कारण आज देशमा अस्थिरता छाएको छ । त्यसैले राज्यको अभिभावक राजसंस्था ब्यूँताउनुपर्छ ।’
जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले सांसदहरू नेताप्रतिभन्दा पनि जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले कर्णालीमा समृद्धिका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
आजको पहिलो बैठकको अध्यक्षता कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले गरेका थिए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया