केन्द्रीय सहमति नटुंगिँदा वाग्मतीमा सरकार गठन आव्हान हुनै सकेन

मकवानपुर । मंसिर ४ को निर्वाचनपछि गठन भएको वाग्मती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । तर सरकार गठनको लागि आह्वान नै हुन सकेको छैन ।
सरकार कि सदन पहिले भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा प्रदेश सरकार गठनको आव्हान नै हुन नसकेको हो । मुख्यमन्त्रीमा दावी गर्दै आएका दलहरु केन्द्रीय सहमतिको पर्खाइमा रहेका कारण सरकार गठनमा ढिलाइ भएको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले प्रदेश सरकारको दावी गरेका छन् । ती दलका संसदीय दलका नेताहरू जगन्नाथ थपलिया, शालिकराम जम्मकट्टेल र उद्धव थापाले आ-आफ्नै दावी मुख्यमन्त्रीमा गरे पनि सत्तारुढ दलहरुले वाग्मती प्रदेशमा कस्को नेतृत्वमा सरकार बनाउने टुंगो लगाउन सकेका छैनन् ।
३७ सदस्य भएको नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा नेकपा एमालेले आफूले प्रदेशको नेतृत्व गर्न पाउनु पर्ने बताउँदै आएको छ । एमाले संसदीय दलको नेता थपलिया आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँछन । तर केन्द्रीय सहमति जे हुन्छ त्यही अनुसार अघि बढ्नु पर्ने वाध्यता रहेको समेत स्वीकार गर्छन् ।
यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता जम्मरकट्टेल प्रदेशको पहिलो कार्यकालमा आफूहरूले एमालेलाई सहयोग गरेकोले यो पटक माओवादीको सरकार बन्नु पर्ने बताउँछन् । प्रदेशको मन्त्रीको जिम्मेवारीमा रहिसकेको अनुभवले समेत आफू मुख्यमन्त्री बन्नु पर्ने उनको भनाइ छ ।
यता अन्य प्रदेशमा दावी नगरी वाग्मती प्रदेशमा राप्रपाले मुख्यमन्त्री दावी गरेको छ । संसदीय दलको नेता थापा सरकार गठनको लागि राप्रपा निर्णायक रहेकोले समेत आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्ने दावी गर्छन् । ३ दलका ३ नेताले मुख्यमन्त्रीको दावी गरिरहे पनि बदलिएको राजनैतिक परिवेशमा केन्द्रीय तहमा सहमति र भागबन्डा जसरी बन्छ वाग्मती सरकार पनि त्यही अनुसार गठन हुने नेताहरू बताउँछन् । वाग्मती प्रदेश सरकार पुस महिना भित्रै गठन भइसक्ने दावी नेताहरूको छ ।
१ सय १० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
सभामुखको निर्वाचन तालिका सार्वजनिक
यसैबीच बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ । नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरुले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्रावधान छ ।
संवैधानिक प्रावधान अनुसार निर्वाचन मिति तय भएसँगै प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनको लागि पुस २९ को मिति तय गरेको हो ।
प्रदेश सभा सचिवालयले पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार सभामुखको निर्वाचनका लागि २८ पुसमा मनोनयन दर्ताको लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म, मनोनयन फिर्ताको समय सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म रहने छ ।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ४ बजे गरिने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन पुस २९ गते शुक्रबार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया