भयावह बन्दै कोभिड संक्रमण, निन्द्रामा सुदूरपश्चिम सरकार

धनगढी : ०७७ पुस पहिलो साता स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेशमा २३ वटा भेन्टिलेटर र २७ बेडको आइसीयू थियो । त्यसको साढे चार महिनापछि स्वास्थ्य निर्देशनालयले नै सार्वजनिक गरेको तथ्यांकमा प्रदेशभरी २३ वटा भेन्टिलेटर र ३३ बेडको आइसीयू रहेको उल्लेख छ ।
यो तथ्याङकले साढे चार महिनाको अवधिमा प्रदेश सरकारले ६ श्यैैया थपेको देखिएको छ भने भेन्टिलेटर एउटा पनि थप भएको छैन । यसले कोभिड-१९ को संक्रमण रोकथाम र उपचारमा सुदूरपश्चिम सरकार कति गम्भीर छ ? भन्ने प्रश्न खडा गरेको छ ।
सेती प्रादेशिक अस्पतालका कोभिड-१९ विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले दोस्रो लहरको कोभिड-१९को संक्रमण तीब्र भए पनि सरकारको तयारी भने फितलो रहेको बताए । ‘कोरोनाको सुरुवाती अवस्थामा पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी जोखिममा थियो,’ उनले भने, ‘अहिले पनि बढी जोखिममा हाम्रै प्रदेश छ । तर यहाँ संक्रमितको उपचारका लागि कुनै व्यवस्थापन नै भएको छैन । न हामीसंग उपकरण छन् । न त भएका उपकरण चलाउने जनशक्तिको नै व्यवस्थापन भएको छ ।’ उनले सुरुवाती अवस्थाको जोखिमलाई मध्यनजर गर्दै संघीय, प्रदेश र स्थानीय सरकारले तयारी नगर्दा भयावह स्थिति सृजना भएको बताए ।
यता सुदूरपश्चिमवासीले भने कोभिड संक्रमण र मृत्यु दर बढ्दै गए पनि प्रदेश सरकार निन्द्रामा रहेको आरोप लगाएका छन् । सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्न पुगेका धनगढीका रोशन चौधरीले भने, ‘स्वाब दिनकै लागि घण्टौसम्म लाइन लाग्नुपर्ने अवस्था छ । संक्रमण भएपछि अस्पतालमा भर्ना हुने ठाउँ छैन् । प्रदेश सरकार निन्द्रामा छ जस्तो लाग्छ ।’
यता सुदूरपश्चिम प्रदेश सरकारले भने परीक्षण र उपचारमा सरकार गम्भीर रहेको बताउँछ । ‘प्रदेश सरकार निन्द्रामा छ भनेर प्रतिक्रिया जनाउनेहरू नै सुतेका छन् होला,’ प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘परीक्षण र संक्रमितको उपचार मात्र होइन । भारतबाट आएका संक्रमितहरूका लागि आइसोलेसनको व्यवस्था पनि प्रदेश सरकारले नै गरेको छ ।’
उनले कोरोना भाइरसका गम्भीर संक्रमितको संख्या बढ्दै गएको बताउँदै उपकरणभन्दा जनशक्ति व्यवस्थापनमा समस्या रहेको जनाए । ‘आइसीयू बेड र भेन्टिलेटर त हामी खरिद गर्ने थियौँ,’ कार्कीले भने, ‘तर ती उपकरण चलाउनका लागि सुदूरपश्चिममा मात्र होइन नेपालमै जनशक्तिको चरम अभाव छ । हामीलाई भएका उपकरण चलाउन पनि समस्या छ ।’
उनले संक्रमण दर बढेकोले गेटा मेडिकल कलेजमा आइसोलेसन बनाउने तयारी भइरहेको बताए । उनले अगाडि थपे, ‘अहिले गेटा मेडिकल कलेजमा बेड राखेर आइसोलेसन सञ्चालन गर्छाै । केही समयपछि धनगढीमै निर्माणाधीन आयुर्वेदिक औषधालयमा सार्ने योजना छ ।’ उनले आर्थिक मामिला तथा योजना मन्त्रालयमा कोरोना परीक्षण र उपचारका लागि बजेट माग गरेको भए पनि स्वीकृत नभएको समेत बताए । उनले पौने दुई करोड बजेट माग भएको बताए ।
कोरोनाको दोस्रो लहर तीब्र रूपमा फैलिएपछि पश्चिमी सीमा नाका गौरीफन्टा भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ । नाकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट फर्किएका नेपाली सोझै घर गइरहेका छन् । जसले सुदूरपश्चिम प्रदेशमा पनि संक्रमण र मृत्यु दर बढेको छ । बिहीबार मात्रै सुदूरपश्चिममा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमण र मृत्यु दर बढेको भन्दै कैलाली र कञ्चनपुरमा बिहीबारदेखि नै निषेधाज्ञा लागू छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया