बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोर्टससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

फाइल फोटो

काठमाडौँ - नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टससँगको सम्झौत पूर्ण रुपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् । 

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्द गर्ने बताएका हुन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउन पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए ।  

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौती भएको भन्दै सोमबार भारत गएका थिए । नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए । 

पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको  र बिहीबार एक करोड पठाएको अध्यक्ष चन्दले बताए । सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए । चन्दले केही टोलीको पारिश्रमिक मालिकहरुले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रुपमा आयोजना हुने बताए । 

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चार माध्यममा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौं टीका टिप्पणी हुन थालेका हुन् ।