स्वादिलो पुस्तक यःमरि

शीर्षक देखेर अनौठो लाग्यो ? अवस्था नै त्यस्तै छ त ।
नेपाली चाडपर्वहरूको लर्कोमा योमरि पुन्ही अर्थात् धान्यपूर्णिमा सकिएको पनि एक महिना नै भयो । तर पनि नेवारहरूको घरमा नजिकका आफन्तलाई नखःत्या (पर्व भोज) बोलाउने, योमरि बनाउने, खाने क्रम अझै जारी छ । नेपाली परिकारहरूको सूचीमा पछिल्लो समय राम्रै स्थान पाउन थालेको छ । यो मामिलामा योमरिले ममलाई राम्रैसँग पछ्याउँदै छ । तर पनि जाडोको बेला योमरिको महत्व पृथक् नै छ ।
योमरि कि यःमरि ? कि योमारी ? यो त्यति ठूलो विवाद हैन । नेपाल त्यसै पनि चार वर्ण छत्तीस जातको फूलबारी नै हो । त्यसमाथि नेवार जातिभित्र पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थातथलोमा बसोबासरत नेवारहरूले बोल्ने डायलेक्ट फरक फरक नै छ । जस्तै काठमाडौँ र पाटनका नेवारहरूले पानीलाई लः भन्छन् भने भक्तपुर, बनेपा, पनौतीतिरका नेवारहरूले ना भन्छन् । त्यसैगरी काठमाडौँ र पाटनका नेवारहरूले रोटीलाई मरि भन्छन् भने भक्तपुरपूर्वका नेवारहरूले मारी भन्छन् । र, मनपर्ने कुरा वा वस्तुलाई नेपाल भाषामा यः वा यो भनिने हुनाले योमरि वा यःमरिलाई लिएर त्यति ठूलो विवाद गरिरहनुपर्ने विषय होइन।
त्यसो त नेपाली खानेकुरा वा परिकार वा पाककलालाई लिएर त्यति धेरै पुस्तकहरू छैनन् । त्यसमाथि बालपुस्तक, पत्रिकाहरू त झनै छैनन् भने पनि हुन्छ । तर पनि आगामी दिन भने सुनौलो देखिन्छ । सन्तोष शाहको अयला, प्रशान्त खनालको टिम्मुर, सुमनराज ताम्राकारको नेवा नसाः, रोहिणी राणाको राणा कुकबुक यस्तै केही उदाहरण हुन् । यसै मेसोमा एउटा परिकार विशेष माथि पुस्तक निस्केको त यःमरि नै होला । त्यसैले निकै हौसिएर यस पुस्तक परिचयको शीर्षक स्वादिलो पुस्तक राखिएको हो ।
काठमाडौँ पूर्व अवस्थित छ, एक नेवारी शहर– पनौती । पनौतीमाथि धेरै नै किंवदन्तीहरू, मिथकहरू छन् । त्यसमध्ये यःमरि पनि एक हो । सारांशमा यःमरिको सुरुवात पनौतीबाट नै भएको मानिन्छ । पनौतीकै एक कृषक दम्पतीको घरमा कुबेर छद्म भेषमा बास माग्न आएको, भोजन माग्न आएको, दम्पतीले मिष्ठान्न परिकार अंजिर आकारको योमरि नै भोजनको रूपमा दिएको, यसको बदलामा उक्त दम्पतीलाई प्रसादको रूपमा दिइएको बिमिरो केही दिनपछि सुन, जुवाहरतमा परिणत भएको किंवदन्तीसँगै योमरिको प्रादुर्भाव जोडिएको छ । पनौती नगरपालिकाको प्रवेशद्वारमा अवस्थित सतीदेवीको दायाँ कान खसेको धार्मिक स्थल धनेश्वरमा धान्यपूर्णिमाको दिन ठूलो मेला लाग्दछ । यसैकारण पनि यी दुई मिथकबीच तादात्म्यता देखिन्छ ।
नेपाली बालसाहित्य क्षेत्रमा यःमरि नामका एक नयाँ चित्रमय पुस्तक थपिएको छ । यस पुस्तकका लेखक कृषा ताम्राकारले यसका चित्रहरू पनि कोरेका हुन् । भाषा र प्रस्तुतिमा थप मिठास ल्याउन दीपक सापकोटाले अनुवाद र भिक्टर प्रधानले राम्रो सम्पादन गर्नुभएको छ । यःमरिलाई केन्द्रबिन्दुमा राखेर यो पुस्तकको परिकल्पना गरिएको भए पनि यस पुस्तकमा योमरि चाडको किंवदन्तीसँगै स्वैरकल्पना नै सही हाँस्यरसयुक्त चाकु र चामलको पिठोको युद्ध राखिएबाट यस पुस्तकलाई थप स्वादिलो बनाएको छ ।
आठ वर्ष माथिका पाठक (बालबालिका) हरूलाई लक्षित गरेर यस पुस्तक प्रकाशन गरेका कारण यस पुस्तकमा समावेश विषयहरू र प्रयुक्त चित्रहरू त्यो उमेर समूहको हिसाबले निकै सान्दर्भिक नै देखिन्छ । यो चित्रमय पुस्तकको अन्त्यतिर यःमरि बनाउने तरिका र योमरि खाँदाका फाइदाहरू पनि राखिएबाट सुनमा सुगन्ध थपिएको छ । कागजको गुणस्तर, रङ संयोजन, बाइण्डिङको हिसाबले पुस्तकको मूल्य त्यति धेरै भन्न मिल्दैन ।
एक युवा लेखक एवं चित्रकार कृषा ताम्राकारको ओपनिङ पहललाई प्रकाशक कथालय इन्कले राम्रो हौसला प्रदान गरेको देखिन्छ । एक युवाको यस मेहनतलाई नेपालका विद्यालयहरू, पुस्तकालयहरूमा संग्रहणीय पुस्तकका रूपमा वा कथा सन्दर्भ सामग्रीका रूपमा राखिदिए आगामी दिनमा यस पुस्तकका अन्त्यमा तपाईंलाई मन पर्ने खाना कसरी बनेको होला, त्यसको आफ्नै कथा बनाउनुहोस् भन्ने आह्वानले सही अर्थ लिन्छ जस्तो लाग्छ । यसो हुन सकेमा हामीले युवा पिँढीहरूबाट ममः, घोंगी, राबडी, चुकाउनी, गुन्द्रुक आदिको कथा पनि सुन्न पाउने आशा गर्न सकिन्छ ।

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

प्रतिक्रिया