चुरे क्षेत्रमा पिउने पानी अभाव, एक गाग्री पानीका लागि पाँच घण्टासम्म लाइन

सर्लाही : चुरे क्षेत्रमा सुख्खा मौसम सुरुसँगै खानेपानी अभाव हुन थालेको छ। वर्सेनि सुख्खा मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन्। सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ।
चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन्। उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव हुन्छ। हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजीकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौं उकालो–ओरालो गरेर मुहानसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको बताइन् ।
४० घरधुरी रहेको बस्तीका छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नभएका कारण स्थानीयवासी समस्यामा परेका छन् । सो कुवाको पानी मुश्किलले चारपाँच घरलाई पुग्ने गरेको जिम्बाले बताइन् । लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पुर्याइए पनि खोलामा पानी सुक्दा धारामा पानी कम आउन थालेको छ। धाराको पानी थाप्न घण्टौं लाममा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको छ’, रानाले बने । एक गाग्री पानीका लागि करीब पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको लालबन्दी १५ का किरण विकको भनाइ छ
दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको छ। वस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेका कारण विभिन्न किसिमका सरुवा रोगसमेत लाग्ने गरेको स्थानीय चिकित्सकले बताएका छन् ।
‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ’, ईश्वरपुर नगरपालिका १२ का अजय थिङले भने । बढ्दो वन विनाश, उत्खनन र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ।
चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका स्थानीय तहले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पुर्याए पनि मूल नै सुक्दा सो कार्य प्रभावकारी बन्नसकेको छैन। पुराना इनारकुवा मर्मत र नयाँ इनार खनेर पानी पुर्याउने योजनानुसार काम भइरहेको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले बताए। उनका अनुसार ठाउँठाउँमा डिप बोरिङ गर्न लागिएको छ । पछिल्लो समय वन विनाश हुँदै गएका कारण पनि पानीका मुहान सुक्न थालेको जनाइएको छ । रासस

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया