सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

आलोपालो वा ‘वर्क फ्रम होम’ नगर्ने कर्मचारीलाई ‘कोभिड काज’

काठमाडौँ : सरकारले कोभिड-१९को रोकथाम र नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञामा सरकारी कर्मचारीले आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणालीमा कार्य सम्पादन गर्ने भएका छन् ।  लोपालो वा ‘वर्क फ्रम होम’ प्रणालीमा अनुपस्थित हुने कर्मचारीलाई सरकारले ‘कोभिड काज’ दिन निर्देशसमेत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि ती संवैधानिकलगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार गरी सो जानकारी दिएको हो । कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । 

'ती जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउने र घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने' मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।