ओली सरकारलाई माओवादीको समर्थन छैन : दाहाल

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र दुईओटा अलग–अलग पार्टी बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको धारा ७६ (१) बाट स्वतः ७६ (२) अनुसारको सरकार भएकाले उसले विश्वासको मत लिनुपर्ने बताएका छन् । ओलीले विश्वासको मत नलिएर कानुनी राजको धज्जी उडाएको दाहालको भनाइ छ ।
‘पहिले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्दा धारा ७६ (१) अनुसार बनेको थियो,’ हिमालय टेलिभिजनको यक्षप्रश्न कार्यक्रममा उनले भने, ‘सर्वोच्चको फागुन २३ को फैसलापछि स्वतः दुईओटा पार्टी भएपछि सरकार स्वतः ७६ (२) अनुसारको भयो । त्यसपछि त हामीले समर्थन दिएका छैनौं ।’ माओवादीले समर्थन फिर्ता लिएको छैन भनेर गलत प्रचार भैरहेको भन्दै उनले भने, ‘हामीले ओलीको सरकारलाई समर्थन दिएकै छैन त के फिर्ता लिनू ? समर्थन गरेको भन्ने केही आधार, प्रमाण छन् ?’
संविधानको धारा ७६ (२) अनुसारको सरकार भैसकेपछि संसदमा विश्वासको मत लिनुपर्ने नलिएकाले सरकार सञ्चालन अवैध भएको उनको भनाइ थियो ।
माओवादीमा रहेर सशस्त्र संघर्ष गरेका नेताहरूले समेत माओवादीलाई विश्वास नगरेर छाड्दै गएको र दाहाल एक्लिदैं गएको भन्ने प्रश्नमा दाहालले शान्ति र संविधान निर्माणमा आफूले लिएको कार्यदिशा उचित भएको भन्दै अरू नेताहरूले भनेजस्तो गन्तव्यहीन बाटो हिंडेर त्यतिबेला कहीं पुग्ने अवस्था नरहेको बताए । ‘समयले त्यसको मूल्यांकन गर्नेछ । कम्युनिष्ट आन्दोलनमा सही बाटो हिंडेका विश्वका अरू ठूला नेताहरू पनि एक्लो भएका थिए । माओलाई त अन्तिममा श्रीमतिले समेत साथ दिइनन्, लिन प्याओले माओलाई गोली नै हान्न गएको थियो । लेनिनको त्यस्तै भयो, स्टालित समेत खुलेर लेनिनको पक्षमा लागेनन् ।’ दाहालले अब माओवादी आन्दोलनका सबै सहयात्री एक ठाउँमा आउने वातावरण बन्दै गएको र त्यो निकट भविष्यमा पूरा हुने उल्लेख गरे ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया