मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

ओलीले दिए कांग्रेस सभापति देउवालाई धन्यवाद

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन् ।

उनले मंगलबार नयाँ प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मागेको विश्वासको मतको छलफलमा देउवालाई धन्यवाद दिएका हुन् । ‘देउवाजी, प्रतिपक्षका नेताज्यूलाई पनि धन्यवाद भन्न चाहान्छु,’ उनले भने, ‘उहाँले सरकारको समर्थन गर्नुभएको छ । राप्रपाले समर्थन गरेको सरकारमा सामेल भएको छैन । त्यही हैसियत कांग्रेसले राखेको छ ।’

उनले देउवाले लोकतन्त्रको एउटा नयाँ भाष्य निर्माण गरेको समेत बताए । अध्यक्ष ओलीले देउवालाई विगतमा संसद् विघटन गर्दा आफूले समर्थन गरेकोसमेत बताए ।  
‘एउटा कुरा भन्छु, २०१५ सालमा संसद् बन्यो २०१७ सालमा विघटन गर्ने म हाेइन राजा हुन्,’ उनले भने, ‘२०५१ सालमा विघटन गरेर मध्यावधिमा जाने म होइन कांग्रेस हो । शेरबहादुरजीले २०५८ साल असारमा मध्यावधिमा गएर माघ १९ पुग्या होइन । मैले त्यतिबेला समर्थन गरेको थिएँ । अरुले विरोध गर्दा पनि ।’