मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

१०.४७ प्रतिशतको लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- 'सबल बैँक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज बैँक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

यस अवसरमा आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ ।

यसै गरी वार्षिक साधारण सभाले सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

उक्त साधारण सभाले विदेशी बैँक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरीक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई लिँदै गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।