व्यवसायीलाई बैंकको ब्याज र घरभाडाको चिन्ता

हेटौंडाः ०७६ सालको चैत्र पहिलो साताबाट सुरु बन्दाबन्दीले अधिकांश व्यावसायी थला परे । चैत पहिलो साताबाट सुरु भएको बन्दाबन्दी लम्बिदैं साउनसम्म पुग्यो । अहिले पुनः कोभिड–१९ संक्रमण तीब्र रूपमा बढिरहेको छ । सरकारले नियन्त्रण तथा रोकथाम गर्न विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ । यो कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन । दोश्रो चरणको निषेधाज्ञा लागू भएपछि पुनः व्यवसायीहरू चिन्तामा परेका छन् ।
‘बल्ल–तल्ल लकडाउनबाट थलिएको व्यवसायमाथि उठ्न खोजेको थियो । फेरि बन्द हुने भयो,’ ब्यवसायी उमेश शर्माले भने । मकवानपुरमा उनी राम लक्ष्मण फर्निचर उद्योग संचालन गर्छन् । ‘एक करोड पुँजी लगानी गरेको छु, ५ जना कामदारलाई रोजगारी पनि दिएको छु । तर के गर्ने लकडाउन भएपछि व्यापार ठप्प हुने भयो । बैंकको किस्ता र पसलको भाडा तिर्न समस्या हुनेभो’, व्यवसायी शर्माले भने, ‘यसअघिको लकडाउनको आधी भाडा घरबेटीलाई बुझाको छु, अरु तिर्ने बाँकी छ ।’
जिल्लामा संक्रमण बढेसँगै मकवानपुरमा व्यवसायीहरूलाई बारअनुसार व्यवसाय संचालन गर्न प्रशासनले भनेको थियो । हेटौंडा बजार क्षेत्रमा धेरै भीडभाड हुन नदिन प्रशासनको गरेको निर्णयले काम गरे पनि व्यवसायीहरू भने मारमा परे । शर्मा भन्छन् मासिक एक लाख किस्ता र ६० हजार रुपैयाँ त घरभाडा अनिवार्य जुटाउनैपर्छ । अहिले नै बजारमा ग्राहक छैनन् । उनले थपे, ‘आजभोलि नै जिल्लामा निषेधाज्ञा लागू हुने सुनिदैछ ।’ त्यसो त मकवानपुरमा अहिले ४ सय बढी सक्रिय संक्रमित पुगिसकेको छ । पाँच सय पुगेपछि जिल्लामा निधेषाज्ञा लगाउने प्रशासनको तयारी छ ।
शर्माले संकटमा राज्यबाट धेरै आशा त गरेका छैनन् । लकडाउन अवधिको बैंकको ब्याज र घरभाडामा छुटसम्म व्यवस्थापन गर्दिए हुने उनको आशा छ । ‘व्यापार बाहेक अन्य आय छैन, परिवार पनि पाल्नुपर्छ यसै व्यवसायबाट,’ उनले भने ।
यसैगरी जिल्लामा ०३३ सालदेखि ग्लासको व्यापार गर्दै आएका गोपाल श्रेष्ठ अहिलेसम्मको व्यवसायिक जीवनमा यस्तो संटकको सामना गर्न नपरेको सुनाउँछन् । उनले जबदेखि व्यापारमा हात हाले ०७६ सालको पहिलो लकडाउन र अहिलको कोभिड–१९ को समय यसअघि कहिल्यै आएन । श्रेष्ठ भन्छन्, ‘जसो तसो यो संकट पनि टर्छ, यही हो घरभेटीलाई भाडा बुझाउन नसके पसल छोडेर जानुपर्छ ।’ व्यापार त आलोपालो बजार संचालन गर्दा ठप्प जस्तै बनिसक्यो ।
कोभिड–१९ यस्तो परिस्थितिमा राज्यले व्यवसायीलाई सम्बोधन गनुपर्ने बताउँछन् मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी एसिस रिजाल । ‘व्यवसाय त अहिले जोर बिजोर र आलोपालो बजार संचालनले गर्दा चौपट भइसक्यो,’ रिजालले भने, ‘ग्रामिण क्षेत्रबाट आउने ग्राहकहरूलाई पनि धेरै समस्या छ ।’
राज्यले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरूलाई हेनुपर्ने उनको धारणा थियो । यस्तो महामारीको संकटमा राज्यले बैंकको ब्याज नपर्ने निर्णय मात्र गर्दिए पुग्ने उनको भनाइ छ । ‘त्यसो त अहिले ब्यापार गर्नेको भन्दा बिचौलीयाहरूको मुनाफा बढी छ’ उनले भने ।
८० हजार मासिक दुई पसलको सटर भाडा बुझाउनुपर्छ । कर्मचारीसहित अहिले ९ जनाको टिम छ । रिजालले भने, ‘अहिले जोखिम धेरै छ, बाँचे अझै बढी गरौला भन्ने लाग्छ ।’
यता मकवानपुर उद्योग वाणिज्य संघ पनि व्यवसायीहरूको गुनासो सम्बोधन गर्न सक्ने अवस्थामा नरहेको बताउँछ । ‘लकडाउन कति समय हुन्छ थाहा छैन, घरभाडा र बैंकको ब्याज तिरिदिन संघले सक्दैन,’ उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष क्रिष्ण कटुवालले भने, ‘व्यवसायीहरूको लागि ठोस खालको राहत दिने कोष संचालनमा समेत छैन ।’
यसअघिको लकडाउनमा सरकारले बैंकको ब्याजमा २ प्रतिशत ४ महिनाको लागि छुट दिए पनि त्यतिले पर्याप्त नभएको उनले बताए । यसअघिको लकडाउनमा ७ सय देखि ८ सय व्यवसायीले ब्याजमा २ प्रतिशत छुटको सुविधा लिएको उनको भनाइ छ । राज्यले यस्तो संटकमा लकडाउन हुँदा सोही अवधि भरको कर छुट, घरभाडा छुट, बैंकको ब्यामा छुट दिनुपर्ने उनले बताए ।
व्यवसायीलाई राज्यले सम्बोधन गर्छ भन्ने आशा गरेको उनले जनाए । मकवानपुरमा २९ सय ९२ व्यक्ति उद्योग वाणिज्य संघमा आबद्ध छन् । यसबाहेक धेरै संघमा पनि आबद्ध छैनन् । सबै व्यवसायीलाई टिकाउन राज्यले विशेष सम्बोधन गर्न आवश्यक भएको अध्यक्ष कटुवाल भन्छन् । उनले लकडाउनको समयमा घरभेटीले मात्रै नभएर सबैले सकेको घरभाडा छुट दिन पनि आग्रह गरे । ‘यस्तो कार्यको सुरुवात सरकारबाटै सुरु हुनपर्छ’ उनले भने ।

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

बिपी राजमार्गमा आजदेखि राति यातायात सञ्चालन रोक

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रतिक्रिया