आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

विमला राई : राष्ट्रिय योजना आयोगको सदस्यदेखि परराष्ट्र मन्त्रीसम्म

काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी विमला राई पौड्याल परराष्ट्र मन्त्री बनेकी छिन् । एमालेले उनलाई परराष्ट्र मन्त्री बनाएको हो । उनले मंगलबार राष्ट्रपतिबाट पद् तथा गोपनियताको सपथ लिएकी छिन्  ।

विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिसँग नजिक रहेकी राईले लण्डनको म्यानचेस्टर युनिभर्सिटीबाट अर्थशास्त्र र ग्रामिण विकाश व्यवस्थापनमा एमए गरेकी हुन् भने नेदरल्याण्ड्सबाट विकाश अध्ययनमा विद्यावारिधि गरेकी हुन् ।

लामो समयदेखि विकास विज्ञका रूपमा गैरसरकारी संस्था एक्सन एड नेपालमा काम गरेकी छिन् । विमलाले सुरुमा कृषि व्यवसायीका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् ।

तर, उनले आफूलाई विस्तारै विकास नीति निर्माता र योजनाकारका रूपमा चिनाउँदै लगिन् । उनी १७ वर्षभन्दा बढी समयदेखि विकास क्षेत्रमा सक्रिय रूपमा संलग्न थिइन् । 

मन्त्री राई २०७४ फागुनमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएकी थिइन् । तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्य थिइन् । उनको राष्ट्रिय सभा सदस्यको पदावधि २०८० फागुनसम्म मात्र छ ।

२०७१ सालमा १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको समेत उनको अनुभव छ ।