आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

रेखा शर्मा : सैनिक हिरासतदेखि सञ्चार मन्त्रीसम्म

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री भएकी छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएकी थिइन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ सय ९६ मतान्तरले हराएकी थिइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पोखरेल हारेपछि रेखालाई उपराष्ट्रपति बनाएर सांसद पदबाट राजीनामा दिन लगाउने विषयमा समेत छलफल चलेको थियो । तर, शर्माले उपराष्ट्रपति पद अस्वीकार गरेपछि त्यो विषय हराएको थियो । एमाले महासचिवलाई हराएर निर्वाचित भएकै कारण पनि उनको मन्त्री बन्ने चर्चा चलेको थियो ।

मंगलबार राष्ट्रपतिबाट शपथ लिएसँगै उनले मन्त्रालयमा कार्यभारसमेत सम्हालिसकेकी छन् । 

यसअघि शर्मा दुईपटक समानुपातिक प्रणालीबाट सांसद भइसकेकी छन् । पहिलोपटक २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनी समानुपातिक सांसद बनेकी थिइन् । २०७४ को निर्वाचनमा पनि उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् । 

२०४२ सालबाट अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीति हुँदै शर्माले आफ्नो राजनीतिक यात्राकाे सुरुवात गरेकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी वाइसियलको केन्द्रीय सदस्य हुँदै २०५७ मा माओवादीको केन्द्रीय सदस्य बनेकी थिइन् । 

शर्मा २०७२ सालमा सामान्य प्रशासन मन्त्री भएकी थिइन् । सामान्य प्रशासन मन्त्री बनेकी रेखाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरेकी छन् ।

उनी २०७० मा माओवादी केन्द्रको संसदीय दलको सचेतक बनेकी थिइन् भने २०७२ मा प्रमुख सचेतक भएकी थिइन् ।

सशस्त्र द्वन्द्वको समयमा २०५८ सालमा एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन् ।