सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

भारतमा एकै दिन ४ लाखभन्दा बढी सङ्क्रमित

एजेन्सी : भारतमा कोभिड-१९ भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या २४ घण्टामा चार लाख नाघेको छ । कोभिड महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोभिड भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिडका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ । भारतमा अहिलेसम्म कोभिड कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोभिडबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।  

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोभिडबाट सङ्क्रमणमुक्त भएका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोभिड परीक्षण गरिएको छ ।