आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

विद्युत् प्राधिकरणले सबै सरकारी संस्थानलाई देखाएको मार्ग

कुनै बेला एसियाली विकास बैंक (एडीबी)सँग ग्रामीण विद्युतीकरण (चर्चित आठौं ग्रामीण विद्युतीकरण)का लागि पाँच करोड अमेरिकी डलर (तत्कालीन विनिमय दरअनुसार करिब ३ अर्ब ९० करोड रुपैयाँ) ऋण प्राप्त गर्न विद्युत् चुहावट २० प्रतिशतमा झार्नुपर्ने प्रमुख शर्त थियो । नेपाल विद्युत् प्राधिकरणले एडीबीसँग गरेको सम्झौताको शर्त पूरा नभएका कारण सम्झौता भएको तीन वर्षसम्म पनि एडीबीले ऋण निकासा गरेको थिएन । त्यतिबेला विद्युत् चुहावट २४ प्रतिशत थियो । एडीबीलगायत अन्य बहुपक्षीय वा द्विपक्षीय ऋण लिनुपर्दा यस्तै खाले कडा शर्त पूरा गर्नुपर्ने बाध्यताका कारण विद्युत् चु्हावट प्राधिकरणको ठूलो टाउको दुखाइको विषय हुन्थ्यो ।

प्राधिकरणले आज बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार यतिबेला देशभरको विद्युत् चुहावट जम्मा १२.०५ प्रतिशत छ । प्राधिकरणलाई ऋण दिने कुनै पनि दातृ निकायले विद्युत् च्ुहावट उच्च भएको भन्नु नपरेको अवस्था आएको छ । यो प्राधिकरणले गरेको सुव्यवस्थाको उदाहरण हो । यो श्रेयको भागीदार प्राधिकरणका सम्पूर्ण कर्मचारी बनेका छन् । अनि विद्युत् चुहावट नियन्त्रणका लागि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मी, प्रशासन र सचेत नागरिक पनि यो सफलताका सहायकसिद्ध भएका छन् ।

प्राधिकरणले वितरण केन्द्र प्रमुखसँग छुट्टै आन्तरिक कार्य सम्पादन सम्झौता गरी चुहावट नियन्त्रणका लागि प्रोत्साहित र दण्डित गर्ने नीति लिएको छ । विगतमा देशभर सबैभन्दा बढी बिजुली चोरी हुने जिल्लाका रुपमा चर्चित भक्तपुरमा चुहावट स्वाट्टै घटेको छ । कुनै बेला ६० प्रतिशतसम्म चोरी रहने भक्तपुरमा यो वर्षको मंसिर मसान्तसम्ममा ९.१९ प्रतिशतमा झरेको छ । भक्तपुरको बिजुली चुहावटमा उल्लेखनीय कमी आउनुको मुख्य कारण राजनीतिक तहमा आएको चेतना पनि मुख्य हो । कुनै बेला मिटर चेक गर्न जाँदा समेत भक्तपुरका ग्राहकबाट प्राधिकरणका कर्मचारीहरू पिटाइ खानुपर्थ्याे । यतिबेला मधेश प्रदेशका एकाध वितरण केन्द्रबाहेक अधिकांश ठाउँमा बिजुली चोरी करिब करिब नियन्त्रणमा आइसकेको छ ।

प्राधिकरणको कुल १२४ वितरण केन्द्रमध्ये सबैभन्दा बढी वितरण चुहावट मधेश प्रदेशमा छ । गत मंसिर मसान्तसम्मको आँकडाअनुसार मधेश प्रदेशमा १२.८ प्रतिशत मात्र चुहावट छ । मधेशपछि विद्युत् चुहावट धेरै हुने प्रदेशमा कर्णाली (१०.५८ प्रतिशत) छ । मधेशका केही ठाउँहरुमा चोरी अझै नियन्त्रणमा आउन सकेको छैन । मलंगवामा ४४.८३, जलेश्वरमा ३४ प्रतिशत चुहावट अद्यापि छ । कर्णाली प्रदेशमा चोरीभन्दा बढी प्राविधिक चुहावट बढी छ ।

विद्युत् चुहावट दुई प्रकारको हुन्छ— प्राविधिक र अप्राविधिक । प्राविधिक चुहावटअन्तर्गत गतिला ट्रान्सफरमर नहुनु, लामो–लामो वितरण लाइन हुनु्, बीच–बीचमा सवस्टेशन नहुनु, १३२ केभीका क्षमतायुक्त प्रसारण लाइन नहुनुका कारण प्राविधिक चुहावट हुने गर्छ । देशभरको हिसाब गर्दा जम्मा ४.५६ प्रतिशत मात्र प्राविधिक चुहावट छ भने अप्राविधिक चुहावट अर्थात् चोरी ७.४९ प्रतिशत मात्र छ । कुनै बेला २७ प्रतिशतसम्म विद्युत् चुहावट रहेको सन्दर्भमा अहिलेको चुहावटलाई नगण्य मान्न सकिन्छ ।

चुहावट बढी देखिएका वितरण केन्द्रमा प्राधिकरणले दह्राे लगानी गर्नुपर्ने देखिन्छ । भोल्टेज कमी भई टेलिभिजन पनि नखुल्ने, मिल कारखाना नचल्ने, विकट र दुर्गम ठाउँमा अझै पनि गुणस्तरीय विद्युत् सेवा प्राप्त हुन सकेको छैन । राज्यले विद्युतीकरणको हिसाब मात्र गर्ने, तर गुणस्तरीय विद्युतमा लगानी कम गर्ने हुनाले यो समस्या आएको हो । विद्युतीकरण दर ९२.५२ प्रतिशत भनिएको छ र अर्काे वर्ष शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको लक्ष्य छ । यो लक्ष्यसँगै प्रसारण लाइन, सवस्टेशनको पनि साथै निर्माण र विकास हुन जरुरी छ । यसका लागि राज्यले गम्भीरतापूर्वक लगानी गर्नुपर्ने देखिन्छ ।

प्राधिकरणको चुहावट नियन्त्रणका यी प्रयासले बाँकी सरकारी संस्थानहरुलाई पनि मार्ग देखाएको छ । नियत सफा भएमा लक्ष्य हासिल गर्न कठिनाइ छैन भन्ने प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण सफलताको सन्देश हो । यसका लागि संस्थानको मुखियामा गतिला व्यावसायिक, उच्च नैतिक चरित्र भएका र पढेलेखेका व्यक्ति हुनुपर्दाेरहेछ । कुनै बेला स्थापनाकालदेखि घाटामा गएको उदयपुर सिमेन्ट इतिहासमै पहिलोपटक नाफामा गएको थियो । सरकारले उक्त सिमेन्ट कारखानामा गतिलो व्यक्तिलाई नियुक्त नगरेकै कारण अहिले पुनः धराशायीउन्मुख हुँदैछ । यसैले नै एउटा व्यक्तिले पनि संस्थानको श्रीवृद्धि र अवनतिमा ठूलो फरक पार्दाेरहेछ भन्ने देखाएको छ ।

सार्वजनिक संस्थानहरुमा बहुदलीय शासनकाल यता आफ्ना मान्छे नियुक्ति गरेर अधिकांश सरकारी कलकारखाना र उद्यम ध्वस्त पारे । त्यसपछि आकर्षक संस्थानमा स्थानीय एजेन्ट र माफियाले लगानी गरेर सम्बन्धित मन्त्रीले पैसा असुलेर नियुक्त गर्न थाले । त्यसको असर प्राधिकरणजस्ता एकाध सरकारी संस्थानबाहेक अधिकांश घाटामा छन् । मन्त्रीको दाउ नै आफू मातहतको सरकारी संस्थानबाट कसरी सक्दो असुल्ने रहेको हुन्छ । यस्तो वृत्ति अद्यापि छ । अब नयाँ सरकार आएको छ । नयाँ मन्त्री आएका छन् । तिनले हिजो यसो भएन र उसो भएन भन्थे । अब यी नयाँ भनिएका पात्रले सरकारी संस्थानमा पैसा खाएर त्यसको मुखिया नियुक्त गर्छन् कि व्यावसायिक व्यक्तित्वलाई जिम्मा लगाउँछन् हेर्न बाँकी छ ।