महिलाको पोल्टामा ६ वटा मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

हिजो गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय महिलाको भागमा परे । यो सहभागितालाई आधार मान्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत देखिएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारमा सत्तारूढ दलहरूमध्ये चार पार्टी सहभागी भएपनि महिलाको सवालमा भने सबै पार्टी उदार हुन सकेनन् । मन्त्रिपरिषद्मा ४ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक जना महिलालाई राज्यमन्त्रीमा पठाएको छ भने सबैभन्दा बढी मन्त्रीको भाग (८ मन्त्रालय) पाएको एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन महिला सांसदलाई मन्त्री बनाएको छ । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित एमाले सांसद विमला राई पौडेलले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । यसैगरी एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी र भगवती चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यता माओवादी केन्द्रले २ जना महिलालाई मन्त्री दिएको छ । उसले प्रतिनिधिसभाको प्रत्यक्षमा निर्वाचित रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको छ भने सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिएको छ । त्यस्तै रास्वपाले सांसद डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा खटाएको छ । महिलाले मन्त्रिपरिषद्मा सन्तोषजनक सिट पाएपनि संविधानको मर्म अनुरूप भने अझै हुन सकेको छैन । ४ जना उपप्रधानमन्त्री रहँदा महिला एक जना पनि नपर्नु भने संविधानको मर्मविपरीत छ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ तर अहिलेसम्म बनेका कुनै पनि सरकारमा ३३ प्रतिशत महिला सहभागिता भने पुग्न सकेका छैन । महिला प्रतिनिधित्वका विषयलाई लिएर मुलुकमा पटक पटक राजनीतिक परिवर्तन आएपनि राज्यको निर्णायक तहमा भने महिला सहभागिता निराशाजनक नै छ । विगतमा अझै कम देशमा गणतन्त्र स्थापना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित २४ सदस्यीय मन्त्रिमण्डलमा चारजना महिलाले मात्र मन्त्री बन्ने सौभाग्य पाएका थिए । संघीयताको कार्यान्वयन नहुँदै बनेको सरकारले पनि महिलालाई उति पत्याएको थिएन । नेपालको संविधान कार्यान्वयनमा जानुपूर्व गठित सरकारमा त ३३ प्रतिशतको बाध्यकारी प्रावधान नै थिएन भने व्यवहारिक अभ्यास त निकै परको कुरा हुन्थ्यो । त्यस बेलाका प्रधानमन्त्रीहरू मध्ये माधवकुमार नेपालको पालामा , ११.६३ प्रतिशत , झलनाथ खनालको पालामा २० प्रतिशत र बाबुराम भट्टराई नेतृत्वको सरकारमा २४.५ प्रतिशत महिलालाई मन्त्री बनाइएको थियो । संविधान कार्यान्वयनमा गएपछि बनेका सरकारमा समेत महिलाको सहभागिता निराशाजनक नै रह्यो । संविधान बनेपछि गठन भएको सरकारका प्रधानमन्त्री प्रचण्डले २०७३ साउन २० मा बनाएको २० सदस्यीय मन्त्रिपरिषदमा एक जना र १४ राज्यमन्त्रीमा तीन महिलालाई दिइएको थियो । यसको एक वर्ष पछि फेरि शेरबहादुर देउवाको नेतृत्वको सरकारले ४४ जनाको मन्त्रिमण्डल गठन गर्दा नौजना मात्र महिलालाई समेटेको थियो । त्यसैगरी अघिल्लो निर्वाचन पछि २०७४ असोज ३१ गते गठन भएको वाम गठबन्धनको मन्त्रिमण्डलमा त ४ जना महिला मात्र मन्त्री भएका थिए । त्यसबेला थममाया थापा महिलामन्त्री, विना मगर खानेपानीमन्त्री, पद्माकुमारी अर्याल स्वास्थ्य तथा जनसंख्यामन्त्री र रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेका थिए । २०७८ जेठमा संसद विघटन पछि बनेको सरकारमा त झन् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्दा चौधरी र रेणुका गुरुङ गरी दुई जना मात्र महिलालाई मन्त्री बनाएका थिए । त्यस्तै २०७८ सालमा पुनः शेरबहादुर देउवा नेतृत्वमा बनेको गठबन्धनको सरकारको मन्त्रिपरिषदमा पम्फा भुसाल, रेणु यादव, उमा रेग्मी , शशी श्रेष्ठ र रामकुमारी झाँक्री बोधमायाकुमारी यादव गरी ६ जना महिला मन्त्री भएका थिए । -आइएनएस-स्वतन्त्र समाचार

समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो : प्रचण्ड

जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु …
संघीय संसदका दुवै सदनको बैठक बस्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख घि…

छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपत…

जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्छ : राष्ट्रपति पौडेल

प्रतिक्रिया