सर्वोच्चमा अनलाइनबाट पनि मुद्दा दर्ता गर्न व्यवस्था गरिँदै

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी तयारी गरिरहेको बताएका छन् ।
शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । यसका निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी दिए ।
त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरूको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताए । पेसी अटोमेसनका लागि सफ्टवेयर लगायतका पूर्वाधार तयार गरिरहेको पनि उनले उल्लेख गरे । का.मु. प्रधानन्यायाधीश कार्कीले अदालतहरूमा रहेका अभिलेख मिसिलहरूलाई डिजिटाइजेसन गर्न सुरु गरिएको बताए ।
अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरूलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उनले जानकारी दिए ।
का.मु. प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरूको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको बताए । उनले यसबाट मुद्दाका पक्षहरू र अदालत स्वयंलाई कार्य सम्पादनमा सहज भएको उल्लेख गरे ।
विद्युतीय प्रणालीको प्रयोगका कारण अदालतहरूमा पक्षहरूको उपस्थितिलाई न्यून गर्दै मुद्दाको कारबाहीका बारेमा सहज जानकारी उपलब्ध गराउन सकिएको उनले बताए ।
उनले न्यायपालिकाको सूचना प्रविधिको स्तर तुलनात्मक रूपमा सन्तोषजनक रहेको उल्लेख गरे । का.मु. प्रधानन्यायाधीश कार्कीले शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गरेका हुन् ।
यस सफ्टवेयरमा कैद, जरिवाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुस्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया