मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

उपसभामुखमा यावदलाई प्रस्ताव गर्दै सांसद पाण्डेले भने– फरक दल भनेको प्रतिपक्ष हो

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डेले उपसभामुख पदमा कांग्रेस सांसद मुक्ताकुमारी यादवलाई निर्वाचित गर्न प्रस्ताव गरेका छन् ।

शनिवार संसद्मा यावदलाई उपसभामुखमा प्रस्ताव गर्दै उनले संविधानले फरक दलबाट सभामुख र उपसभामुख हुने व्यवस्था गरेको भन्दै उनले यादवलाई निर्वाचित गरिनुपर्ने बताए । 

‘संविधानका शब्दले भन्दा बढी आशयले बोल्छ भन्ने गरिन्छ,’ उनले भने, ‘शब्दले व्यक्त गर्ने भाव र आशय महत्वपूर्ण हुन्छन् । हाम्रो संविधानले सभामुख र उपसभामुख भिन्न दलको हुने भनेको छ । फरक दल भन्नुका अर्थ हामीले आशयबाट बुझ्न सकिन्छ । फरक दल भनेको फरक पक्ष हो ।’

सत्ता पक्षबाट सभामुख निर्वाचित भइसकेका कारणले अब प्रतिपक्षबाट उपसभामुख निर्वाचित हुँदा मात्रै सदनलाई एकताबद्ध गरेर  लैजान सकिने उनको भनाइ छ । 

‘सत्तापक्षले प्रस्तुत गरेको व्यक्ति सभामुखमा निर्वाचित हुनुभएको छ,’ उनले भने, ‘प्रतिपक्षले प्रस्तुत गरेको व्यक्ति उपसभामुखमा निर्वाचित हुँदा यो सदन सत्ता पक्ष र प्रतिपक्षबाट माथि उठ्ने र सदनलाई एकताबद्ध बनाएर लैजान सजिलो हुन्छ ।’