बैतडी बस दुर्घटना : चालकलाई सवारी ज्यान मुद्दा लगाइने
मृत्यु भएकाको शव परिवारलाई बुझाइयो

बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ । दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुईजनाको ज्यान गएको थियो । शुक्रबार साँझ परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
बिहीबार राति भएको यात्रुवाहक बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरीको मृत्यु भएको थियो ।
यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको थियो । मृतक सबैको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढीमा उपचार भइरहेको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो । बस सडकबाट ६०० मिटर तल खसेको थियो ।
बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च पवनदूत यातायातले उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही रु ५० हजारका दरले किरिया खर्च उपलब्ध गराइएको प्रालिका प्रबन्धक वीरेन्द्रबहादुर शाहले बताए ।
चालक प्रहरी नियन्त्रणमा
नौ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति भएको बस दुर्घटना प्रकरणमा अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दोगडाकेदार गाउँपालिका-७ खोचलेक घर भएका चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।
दुर्घटना परी घाइते भएका कार्कीलाई माया मेट्रो अस्पताल धनगढीले डिस्चार्ज गरेलगत्तै शनिबार नियन्त्रणमा लिइएको हो । उनले भने, “कानूनी रुपमै प्रक्रिया अगाडि बढाएका छौँ, नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेका छौँ ।” नियन्त्रणमा लिइएका चालक आफैँ साहुसमेत हुन् । (रासस)

सिकार खेल्न गएका युवाको गोली लागेर मृत्यु, १० जना पक्राउ

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

प्रतिक्रिया