मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

गण्डकी सरकारले मन्त्रालय घटाएर १२ बाट ७ मा झार्ने

फाइल फोटो

पोखरा - गण्डकी प्रदेशमा मन्त्रालय घटाईने भएको छ । लामो समयको संवाद र छलफलपछि अन्ततः गण्डकीमा ७ राख्ने निर्णय भएको हो ।

मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रको निर्देशन अनुसार ७ मन्त्रालय बनाउने र मंगलबारसम्ममा मन्त्री परिषद् विस्तारको तयारी गरेका छन् ।

 ‘सकेसम्म घटाऊ भनेर निर्देशन आएपछि पहिलेकै अवस्थामा पुर्‍याउन लागिएको हो,’ सरकारको प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सीता सुन्दासले भनिन्, 'सोमबार बिहान फेरि गठबन्धनका पार्टीसँग बसेर टुंगोमा पुगिन्छ ।'

आइतबार अबेरसम्म मुख्यमन्त्री निवासमा सरकार विस्तार र मन्त्रालयको संख्याका बारेमा गठबन्धनमा आबद्ध दलबीच छलफल भएको थियो ।

‘मन्त्रालयको संख्याका बारेमा अन्तिम निर्णय क्याबिनेटले गर्ने हो, ७ मन्त्रालय बनाउन निर्देशन आएपछि सोही अनुसार गर्न एक्सरसाइज भइरहेको छ, सम्भवत सोमबार बेलुकासम्म कार्यभारसहित थप मन्त्रीको सपथ हुन्छ,’ मन्त्री पञ्चराम गुरुङले भने ।