सन् १९६० मा सुरु कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना अझैंसम्म अलपत्र

धनगढी : २० वर्ष अगाडि सन् १९६० मा तत्कालिन राजा महेन्द्र अमेरिकाको भ्रमणमा जाँदा कर्णाली नदीमा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने बारेमा छलफल भयो । त्यही छलफलपछि अमेरिकी सहयोगमा विश्व बैंक र युएनडिपीमार्फत कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना निर्माणको प्रक्रिया अगाडी बढाइयो । सुरुमा जापानी कम्पनी त्यसपछि नर्वे, अष्ट्रेलिया र जर्मनका परामर्शदाता कम्पनीले आयोजना सञ्चालनका लागि पटक-पटक अध्ययन गरे ।
सन् १९७७ मा भारतका प्रधानमन्त्री मोरारजी देसाईको नेपाल भ्रमणका बेला युएनडिपीले अध्ययन गरेको आयोजनालाई विद्युत मात्रै नभइ सिंचाईका रुपमा अगाडी बढाउँदै बहुउद्देश्यीय रूपमा अगाडि बढाउने सहमति भयो । त्यसपछि सन् १९८९ मा आयोजनाको अध्ययन सम्पन्न गरेर प्रतिवेदन बनाइयो । सन् १९६६ मा अध्ययन सुरु भएको आयोजनाको सन् १९६८ मा स्मेक, सन् १९७६ मा नर कन्सल्टलगायतका समूह र सन् १९८९ मा नर्थ अमेरिकाको परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययन गरे । सम्भाव्यता अध्ययन गरेर भारतलाई बुझाइएको प्रतिवेदनको उत्तर अहिलेसम्म पनि नआएको तत्कालीन आयोजना निर्देशक गोविन्ददेव भट्टले बताए ।
‘आयोजनाका लागि गरिएको अध्ययनमा १० हजार ८ सय मेगावाट विद्युत उत्पादन हुने, नेपालको दुई लाख र भारतको ३४ लाख हेक्टर जमीनमा सिँचाइ हुने र बंगलादेशको बाढी नियन्त्रणमा ठूलो योगदान पुर्याउने उल्लेख छ,’ भट्टले भने । उनका अनुसार सन् १९८९ को अध्ययनको आधारमा ५ खर्ब लागत अनुमान गरिएको आयोजनाबाट ६० हजार जनसंख्या विस्थापित हुने उल्लेख छ । ‘तर आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन भएको छैन्,’ भट्टले भने, ‘अहिले लागत करिब २२ खर्ब र कम्तीमा २ लाख जनसंख्या विस्थापित हुनसक्छ ।’
सन् १९८९ मा गरिएको अध्ययनमा भने निर्माण सुरु गरेर सन् २००३ मा पहिलो युनिटबाट विद्युत् उत्पादन हुनेसमेत उल्लेख भएको भट्ट बताउँछन् । सरकारी उदासिनताले अर्को पुस्तासम्म पनि आयोजना बन्ने छाँटकाँट नरहेको ८२ वर्षीय भट्ट बताउँछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २५ वैशाख ०७५ मा जारी गरेको ऊर्जा क्षेत्रको श्वेतपत्रमा ५ वर्षभित्र कर्णाली–चिसापानी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन एवं वित्तीय व्यवस्था र विकास मोडालिटी तयार गरी निर्माण अघि बढाइने उल्लेख छ। तर, सरकारले आयोजना अगाडि बढाउन कुनै चाँसो दिएको छैन् । कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्ने गरी बेतन कर्णाली आयोजना अगाडि बढाइएको छ ।
क्यानेडियन कम्पनी हिमालय पावर कन्सल्ट्यान्सले तीन वटा क्यानेडियन र एउटा अमेरिकी परामर्शदाताले गरेको अध्ययनमा आयोजनाको क्षमता बढाएर १६ हजार २ सय मेगावाटको पुर्याउन सकिने उल्लेख थियो । सो अध्ययनले परियोजनालाई बहुउद्देश्यीय रूपमा अघि बढाउने उल्लेख गरेपनि सिँचाइ, बाढी नियन्त्रण, जल यातायातभन्दा पनि विद्युतलाई मात्र बढी केन्द्रित गरेर अध्ययन गरेको थियो । तर सरकारी उदासिनताले आयोजना ओझेलमा परेको छ ।
सरकारको छात्रवृत्तिमा कर्णाली चिसापानी आयोजना बनाउँनका लागि २०३७ सालदेखि २०४१ सालसम्म भारतको रुड्की विश्वविद्यालयमा दुई सय ५० इन्जिनियरलाई अध्ययनको व्यवस्था गरिएको थियो । ५०-५० जनाका दरले पाँच ब्याच नेपाली विद्यार्थीले सो विश्वविद्यालयमा सिभिल, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल विषयमा इन्जिनियरिङ सकेर नेपाल फर्किएका थिए । यसरी छात्रवृत्तिमा अध्ययन गरेर फर्किएका विद्यार्थीले विभिन्न आयोजना तथा संस्थामा काम गरेर अवकाश पाइसकेका छन् । तर, कर्णाली–चिसापानी कहिले बन्छ टुंगो छैन । परियोजना अघि नबढ्दा उनीहरूमध्ये अधिकासंको मृत्यु समेत भइसकेको छ । आयोजनाका तत्कालिन निर्देशक भट्टका अनुसार रुड्की विश्वविद्यालयमा अध्ययन गरेका ५, ७ जना मात्रै जिवित छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला गरिएको चीन भ्रमणमा सो आयोजनालाई त्रिपक्षीय रुपमा अगाडी बढाउने सहमति पनि भएको थियो । सरकारले बजेटमा ‘कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनालाई भारत, चीन र नेपालको त्रिपक्षीय मैत्री परियोजनाको रुपमा विकास गर्न पहल गरिने’ उल्लेख गरेको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी बावुराज अधिकारीले आयोजनाको निर्माणबारे अहिले कुनै निर्णय हुन नसकेको बताए । ‘आयोजना निर्माणको सम्भाव्यता अध्ययन गरिएको तीन दशक पुगेपनि भारतलाई बुझाईएको अध्ययन प्रतिवेदनको उत्तर अहिलेसम्म पनि आएको छैन ।’
विश्वकै ठूलोमध्य पर्ने र आकर्षक मानिने कर्णाली चिसापानीलाई दक्षिण एसियाकै क्षेत्रीय र बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढाउन नेपाल सरकारकै प्रस्तावमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) अन्तर्गतको सार्क ऊर्जा केन्द्र (सेक) ले पनि अध्ययन सम्पन्न गरेको थियो । उक्त अध्ययनको रिर्पोट सार्वजनिक हुन बाँकी छ । सेकले परियोजनालाई सार्क क्षेत्रकै साझा परियोजनाको रूपमा अघि बढाउने गरी अध्ययन गरेको हो ।
विज्ञ समूहले दिएको प्रतिवेदनलाई अन्तिम रूप दिएर सेकले सार्कलाई हस्तान्तरण गर्ने र सार्कले क्षेत्रीय आयोजनाको रूपमा अघि बढाउन सक्नेछ । तर, ठूलो लगानीका साथै सिँचाइ, बाढी नियन्त्रण, जल यातायात लगायतको फाइदाको बाँडफाँड लगायतका धेरै मुद्दा रहेकोले परियोजना अघि बढाउनका लागि चुनौती कायमै छ ।

पाटेबाघलाई निकुञ्जमा छाडियो

चितुवाको आक्रमणबाट बालकको मृत्यु

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

लालझाडीका ज्येष्ठ नागरिकलाई तीर्थाटन

आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

प्रतिक्रिया