शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्या, नेपालको अंकमा केही सुधार

डेनमार्क सबैभन्दा कम र सोमालिया सबैभन्दा बढी भ्रष्ट्राचार हुने मुलुक

काठमाडौँ - नेपालको सुशासनको अवस्था गत वर्षको तुलनामा केही सुधार भएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ३४ अंक पाएर ११० औं स्थानमा झरेको छ ।

गत वर्ष नेपालले ३३ अंक पाएर ११७औँ स्थानमा थियो । नेपालको अंकमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा उल्लेख छ । 

यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् । 

सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क (२५ औं), मालदिभ्सले ४० अङ्क (८५ औं), भारतले ४० अङ्क (८५ औं), श्रीलङ्काले ३६ अङ्क (१०१ औं), नेपालले ३४ अङ्क (११० औं), पाकिस्तानले २७ अङ्क (१४० औं), बङ्गलादेशले २५ अङ्क (१४७ औं) र अफगानिस्तानले २४ अङ्क (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क (६५ औं) प्राप्त गरेको छ ।