भयावह बन्दै कोभिड : बाँके र बुटवलमा १३ जनाको मृत्यु
बुटवल : लुम्बिनी प्रदेशमा कोभिड-१९ संक्रमण भयावह बन्दै गएको छ । बाँके र रुपन्देहीमा १३ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बाँकेका थप ७ कोभिड-१९ संक्रमितको उपचारको क्रममा निधन भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा वैशाख १५ गते उपचारका लागि भर्ना भएका ६६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १ का ती पुरुषको वैशाख १६ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ५ का ४८ वर्षीय पुरुषको पनि गएराति ९:१० बजे निधन भएको छ । उनको वैशाख १४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका २ का ५१ वर्षीय पुरुषको पनि आज बिहान ३:३० बजे निधन भएको छ । उनको वैशाख ६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । उनी वैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ६० वर्षीय महिलाको आज बिहान १:२० बजे मृत्यु भएको छ । वैजनाथ गाउँपालिका ८ उनलाई ती महिलाको हिजो नै पिसिआर पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । डिसिसिएमसी बाँकेका अनुसार बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको पनि आज बिहान ६: ३० बजे भेरी अस्पतालमा निधन भएको छ । वैशाख १७ गते भेरी अस्पतालमा पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएका उनलाई वैशाख १८ गते अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरी, खजुरा गाउँपालिका २ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको छ । वैशाख ५ गते पिसिआर रिपोर्ट पोजिटिभ आएका उनलाई वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।
कोहलपुर नगरपालिका १५ का ६० वर्षीय पुरुषको आज बिहान १ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । उनको १७ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । उनी १७ गते नै अस्पताल भर्ना भएका थिए ।
योसँगै हालसम्म बाँके जिल्लाका १३५ संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत रहेका बाहिरी जिल्लाका १२२ संक्रमितको मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ । बाँकेमा हाल ३ हजार ८९६ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र बाँकेमा जिल्लाका ९ र बाहिरी जिल्लाका ३ गरी १२ संक्रमितको मृत्यु भएको थियो ।
बुटवलको कोभिड अस्पतालमा ६ जनाको मृत्यु
रुपन्देहीमा उपचाररत ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो ।
सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देही बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया