माफ गर्नुहोला, ‘ह्यारीकी प्यारी’लाई प्यार गर्न सकिएन

युवकलाई गाउँमा स्वास्थ्य चौकी बनाउन पैसा चाहिएको छ । यसका लागि एउटै उपाय छ, पुर्ख्यौली सम्पत्ति धरौटी राख्ने । तर युवकको एक मात्र हजुरआमाले सर्त राख्छिन्, ‘बिहे गरेर आइज । अनि मात्र सम्पत्ति तेरो नाममा गरिदिन्छु ।’
यता युवतीको पनि एक मात्र हजुरआमा छन् जो नातिनीको बिहे गराउन आतुर छिन् । उनलाई पनि पनाति–पनातिनीको मुख हेर्ने रहर छ । यस्तो अवस्थामा युवतीले उपाय निकाल्छिन्, नक्कली बिहे गर्ने र विर्यग्रहणमार्फत गर्भवती बनेर हजुरआमाको चाहना पूरा गर्ने । असम्भव जस्तो लाग्ने यो अवस्थामा युवक र युवतीको चाहना कसरी पूरा होला ?
झट्ट सुन्दा शुक्रबारबाट प्रदर्शन थालेको ‘ह्यारीकी प्यारी’को ‘लगलाइन’ चखिलो लाग्छ । तर चखिलो ‘लगलाइन’लाई लेखक र निर्देशकले उस्तै गरी बुन्न चुकेका छन् । त्यसैले जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाह अभीनित ‘ह्यारीकी प्यारी’ नेपालमा बन्ने कमजोर फिल्मको लाइनमा खडा भएको छ ।
हरिप्रसाद चौलागाईं उर्फ ह्यारी (जितु नेपाल) पोखरा परको गाउँमा आफ्नी हजुरआमा (लक्ष्मी गिरी) र काका (विजय बराल)का साथमा बस्छ । ह्यारीको सपना हुन्छ गाउँमा स्वास्थ्य चौकी बनाउने । यसका लागि उसले गाउँको चिया पसलदेखि चौतारीसम्ममा डोनेसन बक्स झुण्ड्याउने गरेको छ जसमा गाउँलेले सुको पनि हाल्दैनन् ।
यही समयमा उसले वीर्यदान गरेबापत ३० लाख पाउने सूचना पढ्न पुग्छ र ह्यारी पैसाको लोभमा काठमाडौँ दगुर्छ । यता विकल्पको छनौटमा नगई जेनी आरएल राणा (साम्राज्ञीराज्य लक्ष्मी शाह) पनि वीर्यग्रहणको विज्ञापन गर्छे र नाटकीय संयोगसँगै ह्यारीलाई छान्छे । यसपछि पर्दामा विवाहदेखि बच्चासम्मका दृश्य देखिन्छन् तर दर्शकलाई भावनात्मक रुपमा जोड्ने प्रयत्न नै नगरी ।
पर्दामा देखाइने चिज विश्वसनीय भएनन् जति तामझामका साथ यी चिज देखाए पनि दर्शकको मनमा बस्दैनन् । पहिलो पल्ट निर्देशक बनेका डा. कपिल रिजालका फ्रेम त झकिझकाउ छन् तर विश्वसनीय हिसाबले पर्दामा आउनुपर्ने दृश्य अति सतही छन् । यसले फिल्मको चरित्र र दर्शकलाई जोड्न सकेको छैन । जस्तो कि जितुको स्वास्थ्य चौकी बनाउने सपना, स्वास्थ्य चौकी बनाउने ‘मोटिभेसन’ र जेनीले वीर्यग्रहणमार्फत बच्चा जन्माउने निर्णय ।
हजुरआमाको दबाबका कारण जेनीले यस्तो निर्णय लिन बाध्य भएको बताउन खोजिए पनि निर्देशक रिजालसहित अभिमन्यू निरवी, गिरिराज घिमिरे र सुदीप बरालले लेखेको पटकथा यति खुकुलो छ कि पर्दामा चरित्रले गर्ने कुनै पनि निर्णय परिस्थिति वशीभूत नभई लेखकको मनोमानीमा गराइएको छ । चरित्रमाथि लेखक हाबी हुँदा हुने यस्तै नै हो । यस्तो शैलीले न त चरित्रले आफ्नो लक्ष्य निर्धारण गर्न सक्छ, न त लक्ष्यमा पुग्न आइपर्ने बाधा अवरोध छिचोल्न ।
सम्भवतः यो एउटा कथामा भएभरका सबैले ‘क्रेडिट’ लिन खोज्दाको परिणाम हो । फिल्मको पटकथामा निर्देशक त भइहाले, छायांकार र मुख्य सहायक निर्देशकले पनि नाम राख्ने लोभ संवरण गरेका छन् । मूलकथालाई कसिलो बनाउन योगदान दिनु रचनात्मक भूमिकामा रहेका सबैको कर्तव्य हो । यति गरेकै भरमा मूल पटकथाकारमाथि हाबी हुँदा सम्भवतः यस्तै दुविधायुक्त फिल्म निस्कन्छ ।
सुरुमा चरित्रहरू एउटा आदर्शमा देखिनु र पछि विनाआधार अर्कै हुनु, कमजोर लेखनको संकेत हो । खासगरी जेनीको चरित्र चित्रणमा देखिएको यो कमजोरीले फिल्म हलुका बनाएको छ । किनकि लेखनमा जेनीको चरित्रको ‘एक्सटर्नल’ र ‘इन्टर्नल’ दुवै पक्ष खुलेको छैन । जेनीलाई काठमाडौँको नामी अस्पतालको मालिक्नी देखाएको छ । जवान र सुन्दर त छे नै । तर पनि ऊ ह्यारीले एकचोटि भनेकै (भनेको कुरा राम्ररी स्थापित पनि छैन) भरमा विवाहको नाटक गर्छे र गाउँ, गाउँले र ह्यारीको प्रेममा पर्छे ।
अनि पैसाका लागि आसक्त छ भनेर रोजेको केटा पैसाको पछि लाग्यो भनेर रिसाउँछे पनि । गाउँ, सहर र प्रेमका सम्बन्धमा ह्यारीसँग भेट्नुअघि उसको दृष्टिकोण कस्तो थियो भनेर बताएको भए दोस्रो हाफमा गाउँमा गएर ऊ चकित पर्ने र ह्यारीको चरित्रलाई मायालु नजरले हेर्ने कुरा बलियो हुनसक्थ्यो । त्यसो नहुँदा सहरको मान्छे गाउँको दैनिकी देखेर लठ्ठ हुने ‘स्टेरियोटाइप’मा यो फिल्म पनि फसेको छ ।
यसैगरी ह्यारीको चरित्रमा धेरै विशेषता थोपर्नु पनि कथाका लागि हानिकारक भएको छ । ह्यारी गाउँले हो, गरिब हो र सुन्दरताको प्रचलित मान्यताअनुरुप सुन्दर पनि छैन् जुन कुरा जेनीको मुखैबाट बोलाइएको पनि छ । एउटै चरित्रमा यति धेरै कमजोरी थोपरेर देशकै सुन्दर र धनी युवती उसको पछि लागेको देखाउन, पटकथामा त्यही स्तरको बुनोट चाहिन्छ । यो हुन नसक्दा महत्वाकांक्षी कथाको क्लाइमेक्स फिस्स भएको छ ।
फिल्मको मूलकथालाई लिएर पनि लेखक÷निर्देशक अलमलमा छन् । कथा जेनी र ह्यारीको असम्भव लाग्ने प्रेमकथा भन्नलाई बुनिएको हो कि ह्यारीको स्वास्थ्य चौकी बनाउने सपना कसरी पूरा होला भन्ने कुरा देखाउनलाई हो भन्ने कुराले फिल्मको लय बिगारेको छ । मूलकथामा सहायक कथा हुन सक्छन् र चरित्रको लक्ष्य पनि हुन सक्छ तर कुनै विन्दुमा गएर यिनीहरू जोडिएनन् भने तिनको सार्थकता रहन्न ।
फिल्ममा हजुरआमाहरूको नाटकीय परिवर्तन पनि दर्शकलाई पचाउन गाह्रो पर्छ । अझ यसमा पनि ह्यारीकी हजुरआमा (लक्ष्मी गिरी)ले फिल्मको अन्त्यतिर आएर गाउँले र सहरियाको भिन्नता बताउने दृश्य बिझाउनेछ ।
पहिलो र दोस्रो भागमा स्वास्थ्य चौकी बनाउन र अचानक ह्यारी गाउँको ‘सेभियर’ बनेको कुरा यस गरी मूलकथामा जोडिएका छैनन् । अरुले भनेर हैन, जेनीले ह्यारीले गरेको काम देखेर प्रभावित भएको भए फिल्म अर्कै हुन्थ्यो । यही कारण ह्यारीले स्वास्थ्य चौकी बनाउन मरिहत्ते गरेको कुराले निर्माताको खर्च मात्र बढाएको छ । अझ गाडी, मोटरसाइकल मज्जाले चल्ने ठाउँमा स्वास्थ्यचौकीको महत्व पुष्टि हुँदैन । यसले निर्देशक समाज नै नबुझी फिल्म बनाउन कुदेको महसुस हुन्छ ।
फिल्ममा हजुरआमाहरूको नाटकीय परिवर्तन पनि दर्शकलाई पचाउन गाह्रो पर्छ । अझ यसमा पनि ह्यारीकी हजुरआमा (लक्ष्मी गिरी)ले फिल्मको अन्त्यतिर आएर गाउँले र सहरियाको भिन्नता बताउने दृश्य बिझाउनेछ । सर्वगुण सम्पन्न नातिनी बुहारी घर भित्रिएकामा हजुरआमा सामान्य प्रश्न त गर्छिन् तर गहिराइमा पुगेर असम्भव जस्तो लाग्ने काम कसरी भयो होला भन्ने जिज्ञासा राख्दिनन् । न त गाउँले नै यो विषयमा जिज्ञासा राख्छन् । मिल्दोजुल्दो जोडी हुँदा त मान्छे अनेक शंका गर्छिन् तर यहाँ त जोडा नै आकाश–जमिनको थियो ।
असंगत दृश्यको कुरा गर्दा छिनमै पैसाका लागि मरिहत्ते गर्ने तर भएको पैसामा रत्तिभर नसोची आइटम नचाउने पनि यही श्रेणीमा पर्छन् । समग्रमा धेरै दृश्य यस्ता छन् जहाँ लेखक–निर्देशकले चरित्रलाई जे मन लाग्यो त्यही गराएका छन् । फिल्ममा चरित्रलाई दायाँबायाँ चलाउने अधिकार लेखकलाई हुन्छ तर फिल्ममै सही त्यसो गर्नुको कारण चाहिन्छ । तब मात्र फिल्मको दुनियाँ विश्वासिलो हुन्छ ।
लेखनमा चुकेका निर्देशक कलाकारसँग काम लिने मामिलामा पनि असफल छन् । ‘छक्का पञ्जा’ समूह छाडेर एक्लो अभिनय यात्रामा निस्किएका जितु नेपाल फिल्ममा फिक्का छन् । उनलाई निर्देशकले गम्भीर भूमिकामा देखाउन खोजेका छन् तर जितुले यसका लागि आफ्नै शैली निर्माण गर्न सकेका छैनन् । पहिलो र दोस्रो हाफका उस्तै दृश्यमा पनि अभिनयको ग्राफ नै फरक–फरक छ ।
यही समस्या साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि छ । साम्राज्ञीको अभिनय यात्रा निरन्तर ओरालो लाग्ने क्रममा छ । यो फिल्ममा पनि साम्राज्ञीले अभिनयमार्फत कुनै प्रभाव छाड्दिनन् । फिल्ममा अलि धेरै बेर देखिने विजय बराल र सुवास गजुरेल पनि सामान्य छन् । फिल्ममा जेनीको हजुरआमा बनेर अभिनय गर्ने सरला रिजालको अभिनय फिल्मको कमजोर पाटो हो ।
यो फिल्मको पाश्र्व संगीत, मिक्सिङ र रङ संयोजन लगायतका केही प्राविधिक काम मुम्बईमा गरिएको थियो । फिल्मको रङ संयोजन र ध्वनि मिश्रण राम्रै महसुस हुन्छ । पाश्र्व संगीत पनि नेपाली फिल्ममा सुनिरहनेभन्दा भिन्नै छ तर यो संगीत फिल्मका दृश्यमा भने ‘सिंक’ भएको छैन । दृश्यमा एउटा भाव चलिरहेको हुन्छ, पाश्र्व संगीत अर्कै भावमा बजेको छ ।
फिल्ममा कार्यकारी निर्मातासहित, लेखक र छायांकार भूमिकामा रहेका सुदीप बरालले लेखकका रूपमा गरेको नयाँ काम त भइहाल्यो गरिराखेकै छायांकनको काम पनि असरदार बनाउन चुकेका छन् । फिल्मको गतिले टेलिसिरियललाई टक्कर दिएको आभाष हुन्छ जसमा बरालको छायांकनले पनि यसका लागि योगदान गरेको छ । फिल्मको सम्पादनमा पनि समस्या छ । झट्ट झट्ट दृश्य काटिएको छ । नचाहिने दृश्य लामा छन्, चाहिने प्रसंग चट्ट काटिएका छन् ।
असंख्य कमजोरीका बाबजुद कपिल रिजालले मौलिक कथा वाचनको प्रयास गरेका छन् । कथा छनौटका लागि पनि उनलाई राम्रै अंक दिँदा हुन्छ । उनले कलाकारको छनौटमा पनि सुझबुझ देखाएका छन् । तर लेखन र प्राविधिक कुरामा चुक्दा उनको डेब्यू फिल्म निर्देशनको रहरका रूपमा मात्र स्मरणीय रहनेछ । किनकि डा. कपिल रिजाल बेलायत बस्छन् र उनको भिज्वुल ल्याङग्वेजमा कम्तीमा त्यो ठाउँको साक्षरता अपेक्षा गरिन्छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया