बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

राखी सावन्तका पति पक्राउ, भन्छिन् : म अब बस्न सक्दिनँ, डिभाेर्स चाहान्छु

मुम्बई- राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ  गरेको छ ।

मंगलबार पक्राउ परेका दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन् । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेसन लगेको छ ।

पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेसनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।  

राखी सावन्तले भनेकी छिन्, ‘मंगलबार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरेँ ।’ उनले आफूमाथि निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुई वटा एफआईआर पनि दर्ता गराएकी थिइन् ।

पति पक्राउ परेपछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन्, ‘यो मान्छेसँग म बस्न सक्दिनँ, उनी धेरै केटीसँग अहिले पनि सुत्छन्, मैले अन्तिममा पनि तनुलाई छाडेर आईज भनेको थिएँ तर उसले मानेन, अब म डिभोर्स गर्छु ।’

राखी सावन्तको बिवाह केही साता अघि मात्रै भएको थियो ।