पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

बैतडी - पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।
हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । रु ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो । गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ ।
पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा रु पाँच हजार रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।
भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियो । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो । रासस

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया