शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

स्कटल्यान्डले सुनिश्चित गर्‍याे क्रिकेट लिग-२ को शीर्ष स्थान

काठमाडौँ- स्कटल्यान्डले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शीर्ष स्थान सुनिश्चित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई १० विकेटले पराजित गरेपछि स्कटल्यान्डले अंक तालिकाको शीर्ष स्थान सुनिश्चित गरेको हो ।

लिग-२ को शीर्ष ३ मा स्थान सुरक्षित गरिसकेको स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ । उनले ३ खेलमात्र खेल्न बाँकी छ । यता ३६ वटै खेल खेलेको ओमानको ४४ अंक, ३२ खेल खेलेको नामिबियाको ३७, ३६ खेल खेलेको अमेरिकाको ३५ अंक, २६ खेल खेलेको युएईको २७ अंक, २५ खेल खेलेको नेपालको २० तथा २८ खेल खेलेको पीएनजीको ५ अक छ ।

बुधबार नामिबियालाई पराजित गर्ने क्रममा स्कटल्यान्डले १ सय ५४ रनको लक्ष्य २२ ओभर १ बलमा पुरा गर्‍यो । स्कटल्यान्डका लागि जर्ज मुन्सीले १ सय ३ रन तथा कायल कोएट्जरले ४६ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो । नामिबियाका लागि लो-हान्द्रे लोउरेन्सले सर्वाधिक ५४ तथा पिक्की या फ्रान्सले ३० रन बनाए ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४ तथा साफयान शरिफ र मार्क वाट्टले समान ३-३ विकेट लिए ।

यसअघि मंगलबार पहिलो खेलमा नामिबियाले नेपालसँग २ विकेटको पराजय भोगेको थियो ।