बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

पोखरा म्याराथन : १६ देशका १५० धावक दौडिने

पोखरा- पोखरामा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा म्याराथनको १७ औं संस्करण शनिबार हुँदैछ । २०५८ सालदेखि सुरु प्रतियोगिता पछिल्लो समय विश्वभर चर्चामा छ । आर्थिक अभावले ५ वर्ष रोकिएको प्रतियोगिताको १४ औँ संस्करणमा विदेशी धावकले उपाधि जितेपछि म्याराथनको चर्चा झनै चुलिएको हो ।

अन्तर्राष्ट्रिय चर्चा पाएपछि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन सोसाइटी (एम्स) को सदस्य बनेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

‘त्यो संस्करणमा जापानका ताकानासीले उपाधि जितेका थिए । त्यसपछि पोखरा म्याराथनको थप चर्चा हुन थालेको हो,’ अध्यक्ष पराजुलीले भने, ‘त्यसपछि १५औँ संस्करणबाट महिलाहरूका लागि मात्र २१ किलोमिटरको हाफ म्याराथन पनि समावेश गरिएको छ ।’ १५औँ संस्करणमा कोरोनाका कारण विदेशी सहभागी भएनन् । १६औँ संस्करणमा पुनः विदेशी खेलाडीले उपाधि जितेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

यही वर्ष पोखरा म्याराथनले एम्सबाट मान्यता पाएसँगै अन्तर्राष्ट्रिय भएको छ । १७ औं संस्करणको म्याराथनमा १ सय ५० जना धावक सहभागी हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावकहरूले नाम दर्ता गराएको जनाइएको छ । यस्तै १० किलोमिटर पुरुषतर्फ १ हजार ५ सय र महिलातर्फ ६ सय जनाले नाम दर्ता गराएका छन् ।

५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमशः १ हजार ६ सय र ६ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना, दृष्टिविहीन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले  ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरूका लागि छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । जसमा प्रदेशबाट सहभागी धावकहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने छ ।

यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय  पुरस्कार स्वरूप क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार, १० हजार र ७ हजार रुपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेले प्राप्त गर्ने छन् ।

यसैगरी मञ्चले ह्विलचेयर र दृष्टिविहीन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितीय र  तृतीय हुनेले १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

अन्तर्राष्ट्रिय मान्यता पाएकाले यो पटकदेखि धावकहरूले चिप्सको प्रयोग गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । ‘धरान रनका संस्थापक सन्तोष राईले चिप्सका लागि सहयोग गर्नुहुनेछ । चिप्सको टेक्निसियनहरू पनि उहाँले नै ल्याउनुभएको छ,' अध्यक्ष पराजुलीले भने, ‘एउटा डिभाइस कम्प्युटरसँग कनेक्ट गरिन्छ र धावकले चिप्स लगाएपछि समय हेरिरहनु पर्दैन जसले गर्दा प्राविधिक जनशक्ति धेरै चाहिँदैन ।’

यो पटक म्याराथन र हाफ म्याराथनको धावकहरूले मात्र चिप्स प्रयोग गर्ने उनले बताए ।

पछिल्लो समय पोखरा म्याराथन पोखरा चिनाउने माध्यम बनेको उनको भनाइ थियो । पोखरा चिनाउने धेरै चीजहरूमध्ये पोखरा म्याराथन पनि थपिएको उनले बताए । ‘हिमाललाई हेर्दै तालको किनार किनार पुल तर्दै मन्दिर, मस्जिद, गुम्बाको छेउछाउमा दौडन बिरलै पाइन्छ,’ उनले भने, ‘यस्तो चीजलाई प्रचार गर्नुपर्छ, यसका लागि विभिन्न निकायसँग कुरा गरिरहेका छौँ ।’