जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ६ पुग्यो

बैतडी : बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।
भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पञ्चेश्वर-६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
पञ्चेश्वर-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर-६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीस वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको छ । घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । वडा सदस्यको मृत्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप छ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ । रासस

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया