बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

बढ्याे चिसाे, कतै वर्षा त कतै हिमपात

काठमाडौं : राजधानी लगायत मुलुकभर एक्कासी चिसो बढेको छ । सोमबार मौसम बदली भएसँगै ह्वात्तै चिसो बढेको हो। हुनत चिसो मौसम कात्तिक मध्यबाट शुरू भएको थियो । तर, सोमबार बिहानैदेखि अलिक तिव्र रूपले मौसममा बदली आएको हो । यसले वर्षा र  हिमपात दुवै गराउँछ । 

पश्चिमी वायुको प्रभावका कारण बुधबारसम्म मुलुकको अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

अहिले उपत्यकासहित सबै प्रदेशमा  आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा कतै वर्षा  त कतै हिमपात भइरहेको पनि जनाइएको छ । हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेको छ । हिमपात र चिसोले तिहारको टिकालाई समेत असर गरेको छ । 

मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ । हुनत ति क्षेत्रमा केही दिन यता धाराको पानी नै जम्न थालेको समाचार आएका थिए । हिमपातसँगै खोला, कुवा र धारामा पानी जमेको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले याकचौँरी, भेंडाच्याङ्ग्रा, घोडा, खच्चरलगायतलाई गोठमै बाँधेर राख्न थालेका छन् ।