सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

राष्ट्रपति निर्वाचनबारे राप्रपा भन्छ– सबै विकल्प खुला राखेका छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिनसकेको जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आफूहरूले सबै विकल्प खुला राखेको बताए ।

राप्रपाले कांग्रेस र एमाले उम्मेदवारमध्ये कसलाई समर्थन गर्छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘हाललाई हामीसँग सबै विकल्पहरू खुला छन् । राप्रपा निर्वाचनमा सहभागी हुन पनि सक्छ, तटस्थ पनि रहन सक्छ । हामीले कांग्रेस उम्मेदवारलाई पनि समर्थन गर्न सक्छौँ, एमाले उम्मेदवारलाई पनि समर्थन गर्न सक्छौँ ।’

एमाले र कांग्रेसका उम्मेदवारले राष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्दा आफूहरूले कसैलाई समर्थन वा प्रस्ताव नगरेको प्रवक्ता श्रेष्ठले बताए । उनले अब विकसित हुने राजनीतिक परिस्थितिका आधारमा राप्रपाले निर्णय गर्ने बताए । निर्णय लिन आफूहरूसँग प्रशस्त समय भएको पनि उनको भनाइ छ । ‘निर्वाचन २५ गते हो । हामीले २३ वा २४ गतेसम्म निर्णय गरिसक्छौँ,’ उनले बताए । 

शुक्रबार पुस १० गते बनेको सात दलीय गठबन्धनमा भत्किएर पुरानै पाँच दलीय ब्युतिएपछि राप्रपाले असहमति जनाउँदै सत्ताबाट बाहिरिएको थियो । राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट सामूहिक राजनीनामा बुझाइसकेका छन् । 

स्रोतका अनुसार राप्रपाले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्नेछ । ‘सात दलीय गठबन्धन भत्किनुअगाडि पनि राप्रपा पुस १० को सम्झौताअनुसार राष्ट्रपतिको उम्मेदवार एमालेबाटै बन्नुपर्ने भनिरहेको थियो । २५ गते पनि त्यही गर्छ,’ राप्रपाका एक नेताले भने । 

पुस १० को सम्झौताविपरीत सात दलीय सत्तारूढ गठबन्धनले निर्णय गर्दा त्यो राजनीतिक बेइमानी हुने राप्रपाले बताउँदै आएको थियो । 

राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।